नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि अहिलेसम्म ३० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्।
महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेबाट सुरू भएको हो।
देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। सात वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ। अहिले पनि यहाँ नाम दर्ता गराउनेहरूको लामो लाइन देखिन्छ।
भृकुटीमण्डप मूलगेट सँगैका स्टलहरूबाट नाम दर्ता धमाधम भइरहेको छ।
नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रूपैयाँ साथमा लिएर आउन अनुरोध गरिएको छ।
हामीले भृकुटीमण्डपमा भेला भएका प्रतिनिधिहरूसँग विशेष महाधिवेशन किन आवश्यक लाग्यो भन्ने विषयमा कुराकानी गरेका छौं।