अरू धेरै कुराका लागि मात्र होइन, नेपाली कांग्रेसभित्र गगन थापा र विश्वप्रकाश शर्माको 'क्रेज' नाप्ने एउटा उपयुक्त थलो बन्यो दोस्रो विशेष महाधिवेशन।
संस्थापन पक्षको अवरोधका बाबजुद देशभरबाट भृकुटीमण्डपमा भेला भएका कांग्रेसजनले उनीहरू दुवैका पक्षमा यस्तरी समर्थन प्रकट गरे, 'नेपाली कांग्रेस के भन्छ, गगन–विश्व ले भन्छ' भन्ने नाराले विशेष महाधिवेशनस्थल गुञ्जायमान भइरह्यो।
सभापति शेरबहादुर देउवा पक्षले कांग्रेसभित्रका यी दुई नेतामाथि कारबाहीको डन्डा चलाइरहँदा विशेष महाधिवेशनमा उपस्थित बहुमत कांग्रेस महाधिवेशन प्रतिनिधिहरू गगनलाई सभापति घोषणा गर्ने तयारीमा जुट्दै थिए।
महाधिवेशनको हल यो निर्णयमा पुग्नुअघि नै महामन्त्री विश्वप्रकाशले बन्द सत्र हलमा प्रस्ताव गरिसकेका थिए — अब कांग्रेसको सभापति गगन, हाम्रो भावी प्रधानमन्त्रीको उम्मेदवार पनि गगन!
उनले यस्तो प्रस्ताव गरिसकेपछि आफ्नो प्रतिवेदनमाथि उठेका सवालको जबाफ दिन बन्द सत्रलाई सम्बोधन गर्न आए गगन।
त्यस क्रममा गगनले महाधिवेशन प्रतिनिधिहरूमाथि जुन भावमा कृतज्ञता दर्शाए, महामन्त्री विश्वप्रकाशप्रति पनि उत्तिकै अनुगृहित सुनिए।
'विश्व दाइ जस्तै बोल्न पाए, उहाँ जस्तै लेख्न पाए, उहाँले जस्तै मिलाएर आफ्ना कुरा भन्न पाए हुन्थ्यो भन्ने सोचेर म, प्रदीप पौडेल, गुरू घिमिरेहरू उहाँकोमा जान्थ्यौं,' गगनले सुनाए, 'म उहाँको उपसभापति (नेविसंघमा) बनेर काम गरेको, दाइकै हस्ताक्षरबाट टिकट पाएर स्ववियु चुनाव लडेको।'
गगन त्यतिमा रोकिएनन्। उनले विश्वको मुक्तकण्ठले प्रशंसा गर्दै थपे, 'यो महाधिवेशनसँग विश्वप्रकाश शर्माको व्यक्तिगत अपेक्षा के छ?'
त्यसअघि शर्माले भनेका थिए, 'हामी म अनि हामी भन्छौं। तर म र हामी भनिरहँदा हामी म होइन ऊ भन्न बिर्सिन्छौं। म यहाँ उभिएर भन्दैछु, म होइन, ऊ। अर्थात् विश्वप्रकाश होइन, गगन।'
उनले गगनको नाम प्रस्ताव गर्ने क्रममा यो पनि भनेका थिए, 'दाइ होइन, भाइ।'
नेविसंघमा आफैले डोहोर्याएर अघि बढाएका गगनलाई भावी सभापति र भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिरहँदा विश्वप्रकाशको अनुहार उज्यालो थियो। 'जुनियर' ले उछिन्ने भयो भन्ने इर्ष्याभाव उनको मुखाकृतिमा देखिएन।
सम्भवतः उनको यही गुणबाट प्रभावित गगनले महाधिवेशन हलमा उनको खुला दिलले प्रशंसा गरेका थिए।
गगनले भने जस्तै, महामन्त्री विश्वप्रकाशले कांग्रेसमा सधैंजसो त्यागको नमूना पेस गर्दै आएका छन्।
अहिले विशेष महाधिवेशनको हलमा मात्र होइन, यसअघिका धेरै अवसरमा झापाका विश्वप्रकाशले त्यागका यस्तै उदाहरण प्रस्तुत गर्दै आएका छन्।
त्यसो त विशेष महाधिवेशन हलमा झापाका महाधिवेशन प्रतिनिधि रामबहादुर कटेलले प्रस्ताव नै गरेका थिए, गगन सभापति, विश्वप्रकाश उपसभापति।
तर मनोनयन क्रममा विश्वप्रकाशले फेरि महामन्त्रीमै उम्मेदवारी दिए। पछि गुरूराज घिमिरेका लागि उनले आफ्नो दाबी फिर्ता लिए।
गुरू तिनै नेता हुन्, जो उनै विश्वप्रकाशले अध्यक्षको कार्यकाल पूरा गरेपछि नेविसंघ अध्यक्ष बनेका थिए।
२०७९ सालको निर्वाचनलगत्तै कांग्रेसमा संसदीय दलको नेता छान्ने कसरत हुँदै थियो। महामन्त्री गगनले कांग्रेस संसदीय दलको नेतामा आफ्नो दाबी रहने घोषणा गरिरहँदा पार्टी केन्द्रीय समितिभित्र त्यस्तो कोही पात्र थिएन, जसले तत्कालै उनको घोषणामा समर्थनको आवाज थपिदिएको होस्।
कांग्रेसभित्रको त्यो विराट शून्यतामा स्वर भर्ने एक मात्र पात्र थिए, अर्का महामन्त्री विश्वप्रकाश।
विनम्र र सन्तुलित अभिव्यक्ति अनि व्यवहारका लागि चिनिएका विश्वप्रकाशले त्यस बेला गगनलाई समर्थन मात्र गरेनन्, आन्तरिक बैठक र छलफलमा आफ्नो छवि विपरीत कडा कुरा र अडान राखेर संस्थापन इतर समूहबाट तितरवितर बनेका आफूसहितका धेरै नेता एकै ठाउँ उभ्याउन पनि भूमिका निर्वाह गरेका थिए।
त्यसअघिका दुइटा चुनाव हारेको र झापा–१ मा तेस्रो चुनावी परीक्षा दिँदै गरेका विश्वप्रकाशले सामाजिक सञ्जालदेखि आफ्ना चुनावी सभासम्मै भावी प्रधानमन्त्रीमा मेरो समर्थन गगनलाई भनिरहेकै थिए।
पार्टीको शीर्ष अनि शक्तिशाली नेतृत्वलाई सार्वजनिक रूपमा चुनौती दिनेलाई सकेसम्म टिकट नै नदिने, दिए पनि जित्नै नदिने खेल हुँदै आएको बेला कांग्रेसका दुई महामन्त्रीको घोषणालाई धेरैले जोखिमपूर्ण मानेका थिए।
संसदीय चुनावमा उनीहरू दुवैको जीतको कामना गर्नेहरू धेरैले सामाजिक सञ्जालमै लेखेर दलको नेताबारे छिटो बोलेर जोखिम निम्त्याएको बताइरहेका थिए।
शुभचिन्तकहरूको यो चिन्ताको मुख्य कारण थियो, कांग्रेसभित्रको शक्ति सन्तुलनको अवस्था। एकातिर सभापति शेरबहादुर देउवा र अर्कातिर आफ्नै समूहका शीर्ष नेताहरू गगनका मुख्य चुनौती थिए।
चुनाव सकियो, कांग्रेस सबभन्दा ठूलो दलका रूपमा स्थापित भयो। सभापति देउवाविरूद्ध संसदीय दलमा उम्मेदवारी दिन शेखर कोइराला स्वयं अघि सर्ने मुडमा थिए, जो संस्थापन इतरका नेता पनि थिए।
संस्थापन इतरबाट एक जना मात्रै उम्मेदवार बनाउन भएको लामो प्रयत्न त्यति बेला मात्रै सफल भयो, जब महामन्त्री विश्वप्रकाशले अर्को समूहमा निर्णायक हस्तक्षेप गरे।
महाधिवेशनका बेला फरक समूहबाट चुनाव लडेर महामन्त्री बनेका शर्माले शेखर–गगन समूहभित्र गरेको कसरत नै अन्ततः सफल भयो। गगन नै देउवालाई चुनौती दिन अघि सरे। त्यो पनि शेखरको प्रस्तावमा।
शेखरले गगनलाई दलको नेतामा चुनाव लड्न गरेको प्रस्ताव कांग्रेसको आन्तरिक समीकरणमा फेरबदल ल्याउन सफल देखिएको थियो।
गगनले संसदीय दलमा चुनाव लड्ने बताउँदै गर्दा त्यसमा समर्थनको स्वर दिने विश्वप्रकाशको कदमलाई धेरैले लेनदेनमा आधारित रहेको लख काटेका थिए।
अनुमान यस्तो पनि थियो — उनले दलमा गगनलाई सघाउने अनि १५ औं महाधिवेशनमा गगनले विश्वप्रकाशलाई सघाउने।
विश्वप्रकाशलाई नजिकैबाट चिन्नेहरू भने उनले राजनीतिक लेनदेनमा कहिल्यै विश्वास नगर्ने बताउँछन्।
'अहिले मात्रै होइन, हरेक पटक विश्वप्रकाशले त्यागको नमूना पेस गर्दै आएका छन्,' विद्यार्थी कालदेखिकै साथीसमेत रहेका झापा–१ का क्षेत्रीय सभापति इन्द्र बुढाथोकी भनछन्, 'अहिलेको राजनीतिक अभ्यासमा विश्वप्रकाश बिलकुल फरक नेता हुन्। आफूलाई हुने फाइदाका लागि जस्तोसुकै सम्झौता गर्ने बानी उनको छैन। उनको इमान र त्याग नै सबभन्दा ठूलो गुण हो।'
यसको प्रमाण विश्वप्रकाशले विभिन्न समयमा आफ्नो व्यवहारमार्फत दिइसकेका छन्।
कुनै बेला झापामा महाधिवेशन प्रतिनिधिमा शतप्रतिशत मत ल्याएर जितेका विश्वप्रकाशलाई महासमितिमा जान पनि दबाब थियो। तर आफूभन्दा सिनियरहरूलाई अघि सारेर उनी महासमितिमा जान चाहेनन्।
२०६४ सालमै तत्कालीन सभापति गिरिजा प्रसाद कोइरालाले समानुपातिकबाट संविधानसभा सदस्य बन्न आग्रह गर्दा उनले 'कि प्रत्यक्ष कि प्रतीक्षा' भन्दै त्यो प्रस्ताव पनि अस्वीकार गरेका थिए।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि धेरैले चुनाव नलड्ने घोषणा गरिरहेका छन्। विश्वप्रकाशले भने गत वर्षको पुसमै झापा–१ स्थित आफ्नो क्षेत्रको पार्टी कार्यक्रममा आउँदो चुनावका लागि तयार रहन अरू इच्छुक नेताहरूलाई आग्रह गरिसकेका थिए।
२०७० सालमा चुनाव लड्दै आफू तीन पटक उम्मेदवार भएपछि लगातार चौथो पटक नहुने घोषणा गरेका उनले सोही अनुसार घोषणा कार्यान्वयन गरेका थिए।
यसअघि संसदीय दलमा होस् वा यस पटक उमेर र पार्टी राजनीति दुवैमा आफूभन्दा जुनियरलाई सभापति र भावी प्रधानमन्त्रीका रूपमा प्रोजेक्ट गर्दैगर्दा विश्वप्रकाशको केही सर्त नै थिएन?
'सर्त निश्चित रूपमा थियो,' विश्वप्रकाशले भने, 'कांग्रेसको रूपान्तरण र राजनीतिमा परिवर्तन हाम्रा मुख्य सर्त हुन्। त्यसको सुरूआत गगनले गर्न सक्नेमा म विश्वस्त छु।'
देउवाविरूद्ध संसदीय दलमा गगनले लडेकै बेला सेतोपाटीले उनलाई लेनदेन केही भयो कि भनेर सोधेको थियो।
१५ औं महाधिवेशनमा सभापति पदका लागि हो भन्ने पूरक प्रश्न पनि गरेको थियो।
'अहिले खोला तर्ने बेलामा खोलाकै कुरा गरौं, पहाड उक्लिने बेलामा पहाडको कुरा गरौंला' हिमाल चढ्न पनि सोख भएका विश्वप्रकाशले त्यति बेला भनेका थिए।
दुई जना महामन्त्रीमा निर्वाचित भएपछि बदलिँदो समयबारे बारम्बार छलफल र समीक्षा हुने गरेको दुवैले बताउँदै आएका छन्।
तर संविधानसभादेखि प्रतिनिधिसभासम्म सांसदको भूमिकामा खरो उत्रिएको, सफल स्वास्थ्यमन्त्रीका रूपमा काम गरेको तथा आन्दोलनका हरेक मोर्चामा सफल नेतृत्व दिएका गगनलाई अघि नसार्नु अनावश्यक इर्स्या मात्रै हुने विश्वप्रकाशको बुझाइ थियो।
'त्यो बुझाइमा म आज पनि उत्तिकै प्रस्ट छु,' उनले दोहोर्याए, 'अब गगनको नेतृत्वमा एकताबद्ध र नवीन कांग्रेस हाम्रो लक्ष्य हो।'
जेनजी विद्रोहपछि एमालेका नेताहरू त्यो आन्दोलन र त्यसका माग खारेज गर्दै थिए। त्यही बेला गगन र विश्वप्रकाश भने आन्दोलनका कारण खोतल्दै दलहरू सच्चिनुपर्ने वकालत गर्दै थिए।
यी दुवैले महाधिवेशनमा पेस गरेका प्रतिवेदनमा यी विषय समेटिएका छन्। प्रतिनिधिहरूले पारित गरेर कांग्रेसको धारणा बनाइसकेका छन्।
वैचारिक रूपले धेरै समानता भएका यी दुईमध्ये विश्वप्रकाश कांग्रेसको कुनै पदमा वा जिम्मेवारीमा जानै चाहँदैनन् त?
'कुनै बेला पार्टी र देशको नेतृत्व गर्छु भन्ने आत्मविश्वास लिएरै हिँडेको व्यक्ति हुँ म,' विश्वप्रकाशले बारम्बार भन्दै आएका छन्, 'तर अहिलेका लागि गगन नै सबभन्दा उपयुक्त पात्र हुन्। मेरो सम्पूर्ण प्रयास उनलाई र कांग्रेस सफल बनाउनमा रहनेछ।'