नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले नीति र नेतृत्व दुवैमा गगन थापा र विश्वप्रकाश शर्माको जोडीलाई स्थापित गरिदिएको छ।
२०५७ सालमा उनीहरू नेविसंघको केन्द्रीय समितिमा सँगसँगै थिए। त्यति बेला विश्वप्रकाश नेविसंघको सभापति हुँदा गगन उपसभापति थिए भने चौधौं महाधिवेशनपछि कांग्रेस महामन्त्री पनि सँगसँगै भए।
अहिले आएर २५ वर्षपछि कांग्रेसको नेतृत्व तहमा उनीहरूले सभापति र उपसभापति पद अदलीबदली गरेका छन्। दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा गगन र उपसभापतिमा विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्।
महामन्त्रीमा विजयी भएदेखि नै कांग्रेसभित्र गुटबन्दीको राजनीति तोड्न गगन र विश्वले गरेको निरन्तर प्रयासलाई यसपालि विशेष महाधिवेशनले साकार रूप दियो। भदौ २३ र २४ को जेनजी आन्दोलनको मर्म र भावना अनुसार कांग्रेस बदलिनुपर्छ भन्दै नीति र नेतृत्व दुवैमा परिवर्तन माग गर्दै उनीहरूले छेडेको विद्रोहलाई विशेष महाधिवेशनले अनुमोदन गर्यो।
नेविसंघ हुँदै बनेको उनीहरूको युगलबन्दी बीचमा पार्टी सभापति शेरबहादुर देउवाकै कारण झन्डै झन्डै टुटको संघारमा पुगेको थियो।
तेह्रौं महाधिवेशनपछि देउवाले पार्टीभित्र उदीयमान छवि बनाइरहेका गगनलाई प्रवक्ता बनाउने बचन दिएका थिए। त्यो एक हिसाबले सार्वजनिक नै थियो। त्यसैबीच देउवा र गगनबीच मतभेद भयो र त्यसैको तुष बोकेका देउवाले उनलाई प्रवक्ता बनाएनन्।
त्यसको केही समयपछि विश्वप्रकाश प्रवक्ता बनाइए।
त्यो घटनाले लामो समयदेखिका 'मित्र' र 'दाजुभाइ' एक्कासि एकअर्काबाट टाढिने अवस्था नबनेको होइन। उनीहरू कांग्रेसभित्रका दुई फरक फरक खेमामा पुगेका थिए। तर उनीहरूको व्यक्तिगत हार्दिकता कहिल्यै हराएन, आपसी सहकार्य बलियो पनि भएन।
चौधौं महाधिवेशनमा विश्वप्रकाश देउवा समूहबाट महामन्त्रीका आकांक्षी थिए। देउवाले उनलाई टिकट दिएनन्। त्यति बेलाको एउटा घटना रोचक छ।
शेखर कोइरालाको टिमबाट महामन्त्री उठ्न गगन र मीनेन्द्र रिजाल दुवैले उत्तिकै प्रयत्न गरेका थिए। सशांक कोइरालासँग निकट रहेका मीनेन्द्रले त्यही बेला शेखरसँग निकट भई महामन्त्रीको आकांक्षा देखाएका थिए। गगन भने विश्वप्रकाशलाई महामन्त्रीमा ल्याउन चाहन्थे। तर शेखरले मीनेन्द्रको साथ नछाडेपछि विश्वप्रकाश प्रकाशमान सिंहको समूहबाट महामन्त्री उठे र विजयी भए।
महामन्त्री भएपछि दुवैको हार्दिक सम्बन्ध थप प्रगाढ बन्यो। उनीहरूले कांग्रेस रूपान्तरणको काम सँगसँगै गर्ने निधो गरे र त्यही कर्ममा अविचलित हिँडिरहे।
दुवै महामन्त्री भएकाले यी दुईबीच को बलियोको प्रतिस्पर्धा हुने हो कि भन्ने आशंका पनि थियो। राजनीतिमा त्यस्तो हुनु सामान्य हो। तर गगन र विश्वले त्यो आशंका पनि चिरे। विश्वले घोषित रूपमै सुरूदेखि गगनलाई पार्टीका भावी सभापति स्विकारेका थिए।
यसपालिको विशेष महाधिवेशन त्यसैको निरन्तरता हो।
विशेष महाधिवेशनको बन्द सत्र हलमा गगनले भनेका थिए, 'यो महाधिवेशनबाट विश्वप्रकाशलाई चाहिएको केही छैन। उनलाई सभापति हुनु छैन। उनले त आगाामी पन्ध्रौं महाधिवेशनमा पनि सभापति हुन्न भनेका छन्।'
हुन पनि विश्वप्रकाशले कहिले पनि आफूलाई सभापतिका रूपमा उभ्याएनन्। उनले कांग्रेस सभापतिका रूपमा पनि र देशको भावी प्रधानमन्त्रीका रूपमा पनि सधैं गगनकै नाम अगाडि सारिरहे।
बहुमत कांग्रेस महाधिवेशन प्रतिनिधिहरू गगनलाई सभापति घोषणा गर्ने तयारीमा जुट्दै गर्दा विश्वप्रकाशले बन्द सत्र हलमा प्रस्ताव गरिसकेका थिए — अब कांग्रेसको सभापति गगन, हाम्रो भावी प्रधानमन्त्रीको उम्मेदवार पनि गगन!
उनले यस्तो प्रस्ताव गरिसकेपछि आफ्नो प्रतिवेदनमाथि उठेका सवालको जबाफ दिन बन्द सत्रलाई सम्बोधन गर्न आएका गगनले महाधिवेशन प्रतिनिधिहरूमाथि जुन भावमा कृतज्ञता दर्शाए, महामन्त्री विश्वप्रकाशप्रति पनि उत्तिकै अनुगृहित सुनिए।
'विश्व दाइ जस्तै बोल्न पाए, उहाँ जस्तै लेख्न पाए, उहाँले जस्तै मिलाएर आफ्ना कुरा भन्न पाए हुन्थ्यो भन्ने सोचेर म, प्रदीप पौडेल, गुरू घिमिरेहरू उहाँकोमा जान्थ्यौं,' गगनले सुनाए, 'म उहाँको उपसभापति (नेविसंघमा) बनेर काम गरेको, दाइकै हस्ताक्षरबाट टिकट पाएर स्ववियु चुनाव लडेको।'
गगन त्यतिमै रोकिएनन्। उनले विश्वको मुक्तकण्ठले प्रशंसा गर्दै थपे, 'यो महाधिवेशनसँग विश्वप्रकाश शर्माको व्यक्तिगत अपेक्षा के छ?'
त्यसअघि शर्माले भनेका थिए, 'हामी म अनि हामी भन्छौं। तर म र हामी भनिरहँदा हामी म होइन ऊ भन्न बिर्सिन्छौं। म यहाँ उभिएर भन्दैछु, म होइन, ऊ। अर्थात् विश्वप्रकाश होइन, गगन।'
नेविसंघमा आफैले डोहोर्याएर अघि बढाएका गगनलाई भावी सभापति र भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिरहँदा विश्वप्रकाशको अनुहार उज्यालो थियो। 'जुनियर' ले उछिन्ने भयो भन्ने इर्ष्याभाव उनको मुखाकृतिमा देखिएन।
सम्भवतः उनको यही गुणबाट प्रभावित गगनले महाधिवेशन हलमा उनको खुला दिलले प्रशंसा गरेका थिए।
कांग्रेसका बहुसंख्यक प्रतिनिधि आफ्नो पक्षमा पारेर सभापति निर्वाचित गगन थापा राजनीतिको आरम्भदेखि नै उदीयमान छवि बनाएका नेता हुन्।
काठमाडौंमै जन्मे-हुर्केका गगन सिद्धार्थ वनस्थलीमा कक्षा ९ पढ्दा नै नेपाली कांग्रेसमा आकर्षित भएका थिए। बाल कांग्रेस, नेपाल विद्यार्थी संघ हुँदै राजनीतिमा लामो यात्रा तय गरेका थापाले सजिलै केही आर्जन गरेका छैनन्।
देशकै प्रतिष्ठित क्याम्पस त्रिचन्द्रको स्ववियु सभापति, नेविसंघको उपसभापति महामन्त्री बनेका थापा उतिबेलै नेतृत्वको आँखाका कसिंगरतुल्य थिए।
नेविसंघको सभापति बन्न रोकिएका गगनले २०६२–६३ को जनआन्दोलनपछि कसैले रोक्न नसक्ने गरी कांग्रेसभित्र जरा हाले।
भर्खर कांग्रेस प्रविष्ट हुँदै गरेका किशोरदेखि वयोवृद्धसम्म अलग्गै छाप छाड्न सफल बनेका थापा वाक् शैलीका कारण लोकप्रिय छन्। जुझारू भाषणशैली, विषयवस्तुबारे प्रस्ट ज्ञान, मास लिडरको चरित्र समातेका उनी २०६४ सालदेखि संसदीय यात्रामा पनि अनवरत छन्।
२०६४ को पहिलो संविधानसभामा समानुपातिक कोटाबाट सांसद बनेका थापा त्यसयता काठमाडौं–४ बाट लगातार चुनाव जित्दै आइरहेका छन्। उनी आफ्नो निर्वाचन क्षेत्रमा पनि उत्तिकै लोकप्रिय छन्।
२०६७ असोजमा भएको नेपाली कांग्रेसको बाह्रौं महाधिवेशनबाट थापा कांग्रेस केन्द्रीय समितिमा आएका थिए। उक्त अधिवेशनले सुशील कोइरालालाई सभापति निर्वाचित गरेको थियो। शेरबहादुर देउवा पराजित भएका थिए। गगन थापा केन्द्रीय समितिमा लोकप्रिय मतसहित निर्वाचित भएका थिए।
त्यसपछि केन्द्रीय राजनीतिमा पकड बनाएका गगनले १३औं महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरे। त्यतिबेला उनी डा. शशांक कोइरालासँग पराजित भएका थिए। तथापि उनले पार्टीभित्र आफ्नो प्रभूत्व विस्तार गर्न छाडेनन्। कांग्रेसको १४औं महाधिवेशनबाट अत्यधिक मतसहित महामन्त्री निर्वाचित भएका थिए।
कांग्रेसले नियमित महाधिवेशनको बाटो समातेको भए पनि उनी कसैले रोक्न नसक्ने गरी नेतृत्वमा उदाउने निश्चितै थियो। तर नियमित महाधिवेशन अड्काउने छाँट देखेपछि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाउन महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गर्न थाले।
कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले त्यसरी आह्वान गरे विशेष महाधिवेशन बोलाउनै पर्ने बाध्यकारी प्रावधान छ। तर संस्थापन पक्षले बहुमतको आडमा विशेष महाधिवेशन पनि हुन नदिन चाल चलेपछि गगन र विश्वले जोखिम मोलेरै कांग्रेसलाई त्यो बाटोमा पुर्याए।
उनीहरूकै नेतृत्वमा ५४ प्रतिशतभन्दा बढी प्रतिनिधि कांग्रेसमा नेतृत्व बदल्नुपर्छ भनेर विशेष महाधिवेशनमा सहभागी मात्र भएनन्, कांग्रेस बदल्ने संकल्प पनि गरे।
त्यही तागतमा गगन पार्टीको बागडोर सम्हाल्ने ठाउँमा पुगेका छन्।
दोस्रो विशेष महाधिवेशनमै गगन थापाका सारथि बनेका विश्वप्रकाश शर्मा गगनसँगै चौधौं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए।
राजनीतमा गगन र विश्वप्रकाशको उदय समान समय र समान तवरले भएको छ। दुवैले विद्यार्थी राजनीतिबाट पार्टीमा हस्तक्षेप बढाएका हुन्। बहुदलीय राजनीति संकटापन्न अवस्थामा पुगेका बेला नेपाली कांग्रेसलाई त्राण दिन मात्र होइन ,२०६२–६३ को आन्दोलनमार्फत् व्यवस्था परिवर्तनका लागि दुवैले समान संघर्ष गरे।
स्मरणीय के छ भने, विद्यार्थी राजनीतिमा छँदा विश्वप्रकाश गगनका नेता थिए। २०५७–२०५९ सालमा शर्मा नेविसंघका सभापति हुँदा गगन उनका उपसभापति थिए।
२०६२–६३ को जनआन्दोलनपछि शर्माको राजनीतिक यात्राको गति केही धीमाजस्तो देखिए पनि उनले आफ्नो व्यक्तित्व तिखारी नै रहेका थिए।
२०६४ मा उनलाई सांसद बन्ने प्रस्ताव तत्कालीन पार्टी नेतृत्वबाट नआएको होइन। त्यति बेला समानुपातिक कोटाबाट सांसद बन्न आएको प्रस्ताव विश्वले स्विकारेका थिएनन्।
त्यसपछि झापा–१ बाट उनी प्रत्यक्षतर्फ उम्मेदवार बन्न थाले। दुई चुनावको परिणाम उनको पक्षमा परेन। २०७० मा एमाले उम्मेदवार रवीन कोइराला र २०७४ मा वाम गठबन्धनका साझा उम्मेदवार सुरेन्द्र कार्की (राम) सँग पराजित भएका थिए।
२०७९ सालमा भने उनले एमाले उम्मेदवार अग्नि खरेललाई पराजित गर्दै संसदीय यात्रा सुरू गरेका थिए। यसबाहेक उनीसँग अरू राजकीय अनुभव छैन। उनी मन्त्री बनेका छैनन्।
पार्टी केन्द्रीय सदस्य, महामन्त्री हुँदै कठिन समयमा राजनीतिक परीक्षा दिइरहेका विश्व विशेष महाधिवेशनबाट उपसभापति निर्वाचित भएका छन्।