नेतृत्व पुस्तान्तरणका लागि नेपाली कांग्रेसको विशेष महाधिवेशन कोशेढुंगा नै प्रतीत भयो।
चौथौं महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय समितिमा २० को दशकदेखि पार्टी आन्दोलनमा लागेका क्रियाशील अनुहार थिए। तर काठमाडौंको भृकुटीमण्डपमा भएको दोस्रो विशेष महाधिवेशनले कांग्रेस नेतृत्वमा व्यापक हेरफेर र परिवर्तन ल्यायो।
अहिले कांग्रेस नेतृत्वमा २०६२–६३ को जनआन्दोलनमा नेतृत्व गरेकाहरू उल्लेख्य संख्यामा छन्। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा हस्तक्षेप बढाएका मात्र होइन, ५० को दशकपछि राजनीतिमा उदाएकाहरूको प्रभुत्व पदाधिकारीहरूमा छ।
नेपाली कांग्रेसको विधानले ८ सदस्यीय सहमहामन्त्री निर्वाचित गर्ने प्रबन्ध गरेको छ।
विशेष महाधिवेशनबाट सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर), मुक्ताकुमारी यादव (मधेसी), प्रकाश रसाइली स्नेही (दलित), डिला संग्रौला पन्त (महिला), बहादुर सिंह लामा तामाङ (आदिवासी जनजाति), उदयशमशेर राणा (खस आर्य), योगेन्द्र चौधरी (थारू) र कर्ण बूढा (पिछडिएको समुदाय) निर्वाचित भएका छन्।
यीमध्ये दलित क्लस्टरबाट सहमहामन्त्री निर्वाचित प्रकाश रसाइली (स्नेही) पूर्वसांसद हुन्।
उनी अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकबाट संसद प्रवेश गरेका थिए। बझाङ पुर्ख्यौली घर भएका स्नेही यसअघि चौधौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
पछिल्लो समय उनी गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य पनि थिए।
उनी २०७९ सालमा संसदीय दलको नेता चयनसम्बन्धी समितिमा पनि सदस्य थिए। त्यसमा भीष्मराज आङदेम्बे, पुष्पा भुसाल र प्रकाश स्नेही थिए। २०७७ सालमा सांसदको भूमिकामा हुँदा जाजरकोट घटनाबारे गठित संसदीय विशेष समितिमा उनी पनि सदस्य थिए।
त्यस्तै, आदिवासी जनजाति क्लस्टरबाट सहमहामन्त्री निर्वाचित बहादुरसिंह लामा नुवाकोटका हुन्। उनी लामो समय पार्टी सभापति शेरबहादुर देउवा समूहमा थिए।
२०७९ सालको प्रदेशसभा निर्वाचनपछि उनी देउवाकै सहयोगमा बागमती प्रदेश संसदीय दल नेता चुनिएर मुख्यमन्त्री पनि भए।
तर त्यसैबीच बागमती प्रदेशमा कांग्रेसले संसदीय दल नेता परिवर्तन गर्यो। विगतमा देउवा खेमामै रहेका इन्द्रबहादुर बानियाँ पुनः त्यतै फर्किएपछि पार्टीका २१ सांसदले बहादुरसिंहविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरे।
यो घटनापछि बहादुरसिंहले संसदीय दल नेता गुमाएका थिए। त्यहीँबाट उनी गुट परिवर्तन गरेर गगन–विश्वप्रकाश समूहमा सक्रिय भए। बहादुरसिंह २०४३ सालदेखि राजनीतिमा सक्रिय छन्। उनले नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघबाट सक्रिय राजनीति सुरू गरेका थिए। त्यसयता नुवाकोटको क्षेत्रीय र राष्ट्रिय स्तरमा निरन्तर सक्रिय रहँदै आएका छन्।
२०५४ सालमा उनले गाविस अध्यक्षका रूपमा स्थानीय तहमा जनप्रतिनिधि बनेर काम गरेका थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर ३ बाट तत्कालीन एकीकृत माओवादीका नेता पोस्टबहादुर बोगटीलाई भारी मतान्तरले हराउँदै संविधानसभा सदस्य निर्वाचित भएका थिए। यो उनको प्रमुख जित थियो।
२०७४ मा भने नेपाली कांग्रेसबाट समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेका थिए। २०७९ को निर्वाचनपछि नुवाकोट २ (ख) बाट बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।
प्रदेश सरकारमा उनी पहिले आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए भने पछि मुख्यमन्त्री बन्ने अवसर पाए।
यी पनि पढ्नुहोस्: