नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति र उपसभापति चुनिएका गगन थापा र विश्वप्रकाश शर्मा मात्र होइन, पदाधिकारीमा निर्वाचित अर्का दुई जनाको राजनीतिक यात्रा पनि नेविसंघबाटै सुरू भएको थियो।
उनीहरू हुन् — महामन्त्रीद्वय गुरूराज घिमिरे र प्रदीप पौडेल।
एउटै कालखण्डमा विद्यार्थी राजनीतिबाट उदाएका यी चार जना नेता अहिले पार्टीको बागडोर सम्हाल्ने ठाउँमा पुगेका छन्।
महामन्त्रीमा निर्वाचित गुरूराज घिमिरे २०६२–६३ को जनआन्दोलनका 'आइकोनिक' युवा अनुहार थिए। त्यसको २३ वर्षपछि उनी राजनीतिको केन्द्र भागमा आइपुगेका छन्।
२०५९ सालमा उनी नेविसंघ सभापति थिए। त्यो कालखण्डमा नेपालको राजनीतिले उथपपुथलकारी क्षण व्यहोर्यो। कांग्रेस पनि त्यसबाट मुक्त भएन। नेपाली कांग्रेस नेतृत्वको सरकार अपदस्थ मात्र भएन, त्यो कालखण्डमा नेपाली कांग्रेस विभक्त भयो।
त्यसको साक्षी बस्दै राजतन्त्रविरूद्ध संघर्षमा होमिएका गुरूराजले त्यो समय पहिलो पटक राजद्रोहको मुद्दा खेपे। उनीसहित तीन जना विद्यार्थी नेताले यो मुद्दा व्यहोरेका थिए। त्यति बेला नेविसंघका अध्यक्ष गुरूराज, महामन्त्री गगन थापा र एमाले निकट विद्यार्थी नेता पुरूषोत्तम आचार्यले राजद्रोहको मुद्दा खेपेका थिए।
गुरू–गगन सहितका परिवर्तनकारी आन्दोलनका अगुवाले हाँकेको आन्दोलनले सफलता प्राप्त गर्यो। २०६२–०६३ को आन्दोलनले राजतन्त्रलाई इतिहासको गर्तमा सीमित गर्यो। गणतन्त्रको अभ्युदय भयो। त्यसपछि घिमिरे राजनीतिमा क्रमशः ओझेल परेझैं भए। पार्टीलाई नीति, विचार र दृष्टिकोणका हिसाबले गति दिनसक्ने कांग्रेस पंक्तिको बुझाइमा एकरूपता रहे पनि उनी लाइम लाइटमा भने थिएनन्।
२०७८ मा भएको १४औं महाधिवेशनमा उनी कोशी प्रदेश कार्यसमिति सभापति पदका उम्मेदवार थिए, पराजित भए।
कांग्रेसभित्र उनको छवि अध्ययन र विचारशील नेताका रूपमा छ। घिमिरे नेता शेखर कोइरालानिकट थिए। तर उनी विशेष महाधिवेशन हस्ताक्षर अभियानमा सक्रिय रहे भने गगन थापासँग निकट हुन पुगे। त्यही विशेष महाधिवेशनले उनलाई राजनीतिको केन्द्रमा ल्याइदिएको छ। विशेष महाधिवेशन एकै समय नेविसंघमा बिताएका चार प्रभावशाली अनुहारको लहरमा गुरू घिमिरेलाई भेट्न सकिन्छ।
त्यस्तै विद्यार्थी राजनीतिबाट पार्टी नेतृत्वमा पुग्ने चार प्रभावशाली अनुहारको लहरमा प्रदीप पौडेल पनि उभिएका छन्। उनी बुधबार सकिएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका छन्।
संयोग के छ भने कांग्रेसको भ्रातृ संगठन नेविसंघमा उनको विकास विश्वप्रकाश, गगनसँग भएको हो। पौडेल नेविसंघका सभापति भएका थिए। त्यसो त २०६२–०६३ को आन्दोलनताक पौडेलले पनि राजकाजको मुद्दा खेपेका थिए। उनले नेविसंघको उपसभापति र केन्द्रीय सदस्य पनि रहेर काम गरेका थिए।
विद्यार्थी कालमै छँदा उनी तत्कालीन समय वामपन्थी विद्यार्थीको प्रभाव रहेको अमृत साइन्स क्याम्पस (अस्कल) को स्वतन्त्र विद्यार्थी युनियन सभापति बनेका थिए। त्यो उनको विद्यार्थी जीवनको ठूलो सफलता हो। त्यसैले उनलाई राजनीतिमा सम्भावनाको बाटो देखाएको थियो।
१२औं महाधिवेशनपछि कांग्रेस केन्द्रीय समितिमा पुगेका प्रदीप १३औं महाधिवेशनमा लोकप्रिय मतसहित केन्द्रीय सदस्य दोहोरिएका थिए। १४औं महाधिवेशनमा महामन्त्री उठे पनि पराजित भए। त्यस बेला कृष्णप्रसाद सिटौला निकट रहेका पौडेललाई शेरबहादुर देउवा प्यानलबाट महामन्त्री उम्मेदवार बनाइएको थियो। गगन र विश्वप्रकाश महामन्त्री जित्दा प्रदीप पराजित भएका थिए।
पौडेलले २०७९ सालमा काठमाडौं–५ मा एमाले उम्मेदवार ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गरे। २०७९ पुस ६ गते भएको कांग्रेस संसदीय दल नेता चुनावमा प्रदीप उम्मेदवार गगन थापातिर खुलेका थिए।
गगनसँग निकट भइसकेका उनी स्वास्थ्य तथा जनसंख्या मन्त्री पनि बनेका थिए।
त्यसअघि २०७४ सालको प्रदेश सभा निर्वाचनमा पौडेल तनहुँ–२ (१) मा झिनो मतले पराजित भएका थिए।
यी पनि पढ्नुहोस्: