सरकारसँगको सम्झौतामा काम गरेका दुई जना जेनजी अधिवक्ता यतिश ओझा र मनिष खनालले प्रत्यक्षतर्फ चुनाव लड्ने तयारी गरिरहेका छन्।
झापाको कमल गाउँपालिका-७ का ओझा र नवलपुर मध्यविन्दु नगरपालिका-६ का खनाल दुबै जनाले जेनजी प्रतिनिधिको रूपमा चुनाव लड्न लागेका हुन्।
ओझा झापाको क्षेत्र नम्बर ४ बाट र खनाल नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गर्ने तयारीमा छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेनबीच भएको ‘बृहत् एकता’ पछि उनीहरूले आआफ्नै प्रतिनिधि छानिरहेका छन्। ओझा र खनालले बालेनको तर्फबाट समायोजन हुने गरी उम्मेदवारी दिन लागेका हुन्। यद्यपि रास्वपाले उम्मेदवारी टुंग्याइसकेको भने छैन।
केही दिनअघि मात्रै उनीहरू दुबै जनाले बालेन शाहसँग भेटेर आफूहरू चुनाव लड्नेबारे कुराकानी गरेका थिए।
‘सुरूमा मेयरजीले झापा-५ बाट लड्नेबारे यकिन नभएकाले हामी भेट्न गएका थियौं। उहाँले झापा ५ बाटै लड्ने कुरा गर्नुभएपछि झापा ४ बाट उम्मेदवारी दिने तयारी गरेको हो,’ ओझाले भने।
दुबै जना जेनजी आन्दोलनपछि रक्षा बम संयोजक रहेको नेपाल जेनजी फ्रन्टमा आबद्ध छन्। त्यस्तै, उनीहरू दुबै जना मंसिर २४ गते सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौताको लेखन प्रक्रियामा समेत सहभागी भएका थिए।
ओझाले त्यतिबेला कानुन मन्त्री अनिल सिन्हालाई सम्झौतापत्रमा ‘गैरन्यायिक हत्या’ शब्द राख्नका लागि कन्भिन्स समेत गराएका थिए।
उनीहरू जेनजी आन्दोलनको आवाज संसदमा उठाउनका लागि पनि आफूहरूले उम्मेदवारी दिन लागेको बताउँछन्।
‘हाम्रो उम्मेदवारी भनेको जेनजी आन्दोलनको आवाज प्रतिनिधि सभामा उठाउनका लागि हो,’ खनालले भने, ‘हामी कानुनका विद्यार्थी हौं। जेनजी आन्दोलनले पुस्तान्तरणको कुरा उठायो। त्यससँगै काम गर्ने शैली पनि परिवर्तन हुन जरूरी छ। अर्थात् सांसद बन्ने भनेको नीति निर्माणमा काम गर्ने भनेर देखाउने हो।’
त्यसैगरी ओझाले पनि जेनजीको एजेन्डाबारे आउने सरकारलाई झकझक्याउनका लागि पनि संसदमा जेनजी प्रतिनिधिको आवश्यकता देखेर उम्मेदवारी दिने तयारी गरेको बताए।
‘जसरी माओवादीले संसदमा जनयुद्धको मुद्दा बोक्यो, अरू दलले पनि त्यसलाई अपनत्व त लियो। माओवादीले जति अरूले दलले त्यसलाई बोकेको देखिन्न। त्यसैगरी जेनजी आन्दोलनको मुद्दा, एजेन्डा, मर्म, आवाजलाई सडकमा उभिएका हामी जेनजी निरन्तर रूपमा सदनमा उठाउन चाहन्छौं,’ ओझाले भने।
उनीहरूले चुनावमा लड्ने तयारी गरिरहँदा आफूहरूलाई ‘निर्वाचन खर्चिलो’ हुने बताउँदै नलड्न भनेर सुझाव समेत आउने गरेको बताउँछन्। यद्यपि त्यो पुरानो खर्चिलो परिपाटीलाई अन्त्य गरी चुनाव लड्ने उनीहरूको भनाइ छ।
झापा-४ मा यसअघि नेकपा एमालेका लालप्रसाद साँवा लिम्बूले २९ हजार ३१५ मत ल्याएर विजयी भएका थिए। त्यस्तै उनका प्रतिस्पर्धी देउकुमार थेवेले २२ हजार ४४८ मत ल्याएका थिए। तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु प्रसाद ढकालले १४ हजार ६९ मत ल्याएका थिए।
नवलपुर-२ मा भने नेपाली कांग्रेसका विष्णुकुमार कार्कीले जितेका थिए। कार्कीले ३६ हजार १३२ मत ल्याउँदा उनका प्रतिस्पर्धी तलबहादुर महत क्षेत्रीले ३४ हजार ११० मत ल्याएका थिए। तेस्रो स्थानमै रहेको रास्वपाका शालिकराम न्यौपानले ६ हजार ४४९ मत प्राप्त गरेका थिए।