अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनिसोटामा सेना परिचालन गर्ने चेतावनी दिएका छन्।
मिनिसोटाको मिनियापोलिसमा एक साताअघि अध्यागमन अधिकारीहरूले गोली हानेर एक महिलाको हत्या गरेपछि सुरू भएको प्रदर्शन पछिल्ला दिनहरूमा अझै चर्किएपछि ट्रम्पले सेना परिचालनको धम्की दिएका हुन्।
प्रदर्शन साम्य नभएपछि ट्रम्पले १९ औं शताब्दीको कानुन प्रयोग गरी मिनियापोलिसमा सेना परिचालन गर्ने धम्की दिएका हुन्।
'यदी मिनिसोटाका भ्रष्ट नेताहरूले कानुन पालना नगरी अध्यागमन अधिकारीहरूमाथि आक्रमण गर्न पेसेवर विद्रोहीहरूलाई नरोके विद्रोह नियन्त्रण कानुन (इन्सरेक्स एक्ट) प्रयोग गर्नेछु,' उनले ट्रुथ सोसल अकाउन्टमा लेखेको पोस्टमा भनिएको छ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले कानुन प्रयोग गर्ने नगर्ने निर्णय राष्ट्रपतिको हातमा भएको बताएकी छन्।
ट्रम्पको यो चेतावनीपछि संघ र राज्य सरकारबीच द्वन्द्व चर्किने संकेत गरेको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
यो चेतावनी मिनियापोलिससहित देशभर संवेदनशील बनेको अवस्थामाझ आएको हो।
गत साता मिनियापोलिसमा इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई) का एक अधिकारीले ३७ वर्षीया अमेरिकी नागरिक रेनी निकोल गुडलाई उनको कारमै गोली हानी हत्या गरेका थिए।
उक्त घटनाका भिडियोहरू सार्वजनिक भएपछि आईसीईको कार्यशैलीविरुद्ध आक्रोश र व्यापक प्रदर्शन सुरु भएको थियो।
तर ट्रम्प र उनका सहयोगीहरूले उक्त अधिकारीको बचाउ गर्दै अध्यागमन अधिकारीहरूप्रति समर्थन दोहोर्याएका छन्।
ट्रम्प प्रशासनले मिनियापोलिसि र अरू सहरहरूमा थप अध्यागमन अधिकारी तैनाथ गर्ने तयारी गरेको छ।
यसैबीच, होमल्यान्ड सेक्युरिटी विभागले बुधबार राति अर्को घटनामा एक संघीय अधिकारीले भेनेजुएलाका आप्रवासीलाई गोली हानी घाइते बनाएको पुष्टि गरेको छ।
विभागका अनुसार ती व्यक्ति भाग्न थालेपछि अध्यागमन अधिकारीहरूले लखेटेर उनलाई पक्राउ गर्ने प्रयास गरेको थियो। तर ती व्यक्ति अध्यागमन अधिकारीमाथि जाइलाग्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाएको भनिएको थियो।
गोली ती व्यक्तिको खुट्टामा लागेको थियो।
मिनेसोटाका राज्य तथा स्थानीय अधिकारीहरूले संघीय सरकारकै कदमले मिनियापोलिसमा हिंसा बढाएको दाबी गर्दै आईसीई एजेन्टहरूलाई शहर छाड्न आग्रह गर्दै आएका छन्।
मिनियापोलिसका मेयर ज्याकब फ्रेले बुधबार रातिको गोलीकाण्डपछि आयोजित पत्रकार सम्मेलनमा संघ सरकारले आफ्नो सहरमा हिंसा भड्काउन खोजेको आरोप लगाएका थिए।
'अमेरिकामा दुई सरकारी निकाय एक–अर्कासँग लडिरहेको अवस्था हुनु हुँदैन,' भनेका छन्।
इन्सरेक्शन एक्ट पछिल्लो पटक सन् १९९२ मा क्यालिफोर्नियाका गभर्नरको अनुरोधमा तत्कालीन राष्ट्रपति जर्ज एच.डब्ल्यू. बुशले लस एन्जलस दंगापछि प्रयोग गरेका थिए।
अहिले ट्रम्पले पुनः यही कानुन प्रयोग गर्ने संकेत दिएसँगै मिनेसोटामा राजनीतिक र सामाजिक तनाव थप गहिरिने देखिएको छ।