नेपाली कांग्रेसका नेताहरूसँगको छलफलमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले संविधान र ऐन-कानुनको परिधिमा रहेर विश्लेषण गर्ने बताएका छन्।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका नेताहरूसँग शुक्रबार बिहान आयोगमा भएको छलफलमा उनले उक्त कुरा बताएका हुन्।
सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक पार्टी भएको जिकिर गर्दै उनीहरू आयोगका पदाधिकारीसँग छलफल गर्न गएका थिए।
छलफल क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, 'निर्वाचन आयोगले संविधान, ऐन-कानुनको परिधिमा रहेर विश्लेषण गर्छ। विधि र पद्दतिबाहिर गएर आयोगले निर्णय गर्दैन।'
उनले निर्वाचन कार्यतालिका अनुसारका काममा सहभागी हुन आग्रह पनि गरे।
निर्वाचन आयोगमा कार्यवाहक सभापति खड्का, नेता शेखर कोइराला, उपसभापति धनराज गुरूङ, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, नेताहरू मिनेन्द्र रिजाल, रमेश लेखक, नैनसिंह महर, जितजंग बस्नेतलगायत पुगेका थिए।
कार्यवाहक सभापति खड्काले आयोगका पदाधिकारीहरूसँग कुराकानी क्रममा विशेष महाधिवेशन विधानअनुरूप नरहेको दाबी गरेका छन्। हालै भएको विशेष महाधिवेशनले गगन थापा सभापतित्वमा नयाँ कार्यसमिति चयन गरी हिजो आयोगमा अद्यावधिक गर्न निवेदन दिएका थिए।
कार्यवाहक सभापति खड्काले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेर त्यसलगत्तै निर्वाचन आयोगमा जानकारी गराइएको पनि बताएका थिए।
'गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीले ५ वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही गरिसकेको र त्यसको जानकारी आयोगलाई पठाइसकिएको छ,' उनले भने।
उनले तत्कालीन महामन्त्री गगन थापाको नेतृत्वमा क्रियाशील सदस्यता छानबिन समिति रहेको र उक्त समितिले केन्द्रीय समिति र सभापतिलाई क्रियाशील सदस्यता सूची नबुझाएकोले नियमित महाधिवेशन हुन नसकेर वैशाखमा सार्नुपरेको पनि बताएका थिए।
साथै केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य नरहेको निष्कर्ष निकालेको उनको भनाइ थियो।
विधानमा केन्द्रीय समितिले सभापतिसहितको कार्यकाल एक वर्ष थप गर्न सक्ने व्यवस्थासमेत रहेको उनको भनाइ छ। उनले आफूहरू नै १४ औं महाधिवेशनबाट निर्वाचित तथा आधिकारिक पार्टी रहेको दाबी गरेका थिए।
त्यस्तै, नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचन आयोगमा पुगेर सिंगो केन्द्रीय समिति अहिले निर्वाचन आयोग आएको बताउँदै आधिकारिक आफूहरू नै रहेको बताएका छन्।
कोइरालाले आयोगका पदाधिकारीहरूसँग भने, 'सिंगो केन्द्रीय समिति र सदस्य यहाँ छन्, केही चोइटिएर गए होलान्।'
कोइरालाले विशेष महाधिवेशनका पक्षमा गरिएका हस्ताक्षर फिर्ताको निस्सा आफूहरूसँग रहेको पनि बताए।
'विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता भएको निस्सा हामीसँग छ,' कोइरालाले भने।
उनले निर्वाचन आयोगलाई व्यक्तिभन्दा पनि संस्था हेर्न आग्रह गरेका थिए।