नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने निर्णय पार्टीले नगरेको बताएका छन्।
निर्वाचन आयोगमा बिहीबार पत्रकारहरूसँगको कुराकानीमा विश्वकर्माले काठमाडौं जिल्ला सभापतिको सभापतित्वमा भएकाले बरू त्यो काठमाडौं जिल्ला अधिवेशन हुनसक्ने बताएका हुन्।
'उहाँहरूले भनेको विशेष महाधिवेशनको सभापतित्व कसले गर्यो? केन्द्रीय सभापति, कार्यवाहक सभापति, उपसभापति, महामन्त्रीद्वयले नभए केन्द्रीय सदस्यले गर्नुभयो?,' उनले भने, 'काठमाडौं जिल्लाका सभापतिले गरेपछि सम्भवतः त्यो काठमाडौं जिल्लाको अधिवेशन हुन सक्छ।'
भृकुटीमण्डपको महाधिवेशनबाट गगन थापा नेतृत्वमा १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिसकेको छ।
विशेष महाधिवेशनको सभापतित्व काठमाडौं सभापति सबुज बानियाँले गरेका थिए। यसअघि २०१४ मा विराटनगरमा भएको पहिलो विशेष महाधिवेशनको सभापतित्व तत्कालीन मोरङ सभापति गिरिजाप्रसाद कोइरालाले गरेका थिए।