नेकपा एमालेले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका रहेको जनाएको छ।
शुक्रबार निर्वाचन आचारसंहिता सम्बन्धी निर्वाचन आयोगले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै एमालेका सचिव राजन भट्टराई सो भनाइ राखेका हुन्।
उनले निर्वाचनलाई भयरहित ढंगले निष्पक्ष रूपमा सम्पन्न गर्नका लागि निर्वाचन आायोगले कस्तो तयारी गरिरहेको छ? भनी प्रश्न समेत गरे।
उनले निर्वाचनको आचारसंहिता कार्यान्वयनका लागि अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराए।
सचिव भट्टराईले निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयनमा नजाँदा विगतको निर्वाचन पनि सहज हुन नसकेको समेत स्मरण गराए।
उनले भने, ‘निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको मनिटरिङ सिष्टम के हो? यो आचार संहितालाई प्रभावकारी रूपमा कार्यान्वयनमा लिएर जानका लागि को-मनिटरिङ सिष्टम प्रभावकारी नहुँदा यो प्रभावकारी हुन सकेको छैन। निर्वाचन सहज बनेको छैन र विशेष गरी पैसाको चलखेल र अघि भनेजस्तो मनि मसलको प्रयोगलाई नियन्त्रण गर्ने कुरामा निर्वाचन आयोग कति तयार छ?’
उनले अघि भने, ‘यो एउटा पक्ष रह्यो भने अर्को यो निर्वाचनका लागि उम्मेदवारी ढुक्कका साथ जनतामा जान पाउने भए र भयरहित वातावरणमा कुनै प्रलोभनमा नपरी निष्पक्ष हुने कुरा अझै सुनिश्चित भइसकेको छैन भन्ने हाम्रो मान्यता छ। त्यसकारण त्यो विश्वास दिलाउने कुरामा निर्वाचन आयोगको भूमिका के कस्तो रहेको छ?’
सचिव भट्टराईले निर्वाचनको प्रचार सम्बन्धी आचार संहितामा उल्लेख गरिएको व्यवस्था व्यावहारिक नरहेकोतर्फ पनि निर्वाचन आयोगलाई सचेत गराए। –न्युज एजेन्सी नेपाल