नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको विशेष महाधिवेशनबारे टिप्पणी गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सडकबाट बहुमत पुर्याएको टिप्पणी गरेका हुन्।
‘नेपाली कांग्रेसले नियमित महाधिवेशन नगरेर विशेष महाधिवेशन किन गरेको छ? चार-पाँच वर्ष कति हो कार्यकाल, नियमित महाधिवेशनको मिति तोकिइसकेको थियो। बैठक कसले बोलाउने भन्ने पनि थिति होला नि? बैठक कसले बोलाउँछ, महाधिवेशन कसले बोलाउँछ? थिति होला नि त? बहुमत र अल्पमतको टुंगो गर्ने पनि त थिति होला नि! कसैले सडकमा बहुमत पुर्याएँ भनेर भनेका भरमा हुन्छ?’ अध्यक्ष ओलीले भने।
उनले प्रजातन्त्रलाई अराजकतातर्फ लैजान खोजिएको बताए। प्रकारान्तरले समाजलाई अराजकतातर्फ लान खोजिएको आरोप पनि लगाए। कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। शेरबहादुर देउवा पक्षले यसलाई आधिकारिकता दिन नहुने भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराइरहेको छ।