प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जेनजी युवा विकास रसाइलीले चितवन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन्।
भदौ २३ र २४ गते भएको आन्दोलनमा सक्रिय रहेका रसाइली जेनजी मुभमेन्ट अलायन्समा आबद्ध छन्।
जेनजीको प्रतिनिधित्व गर्दै चितवन क्षेत्र नम्बर १ बाट चुनाव लड्न लागेको बताएका छन्।
‘भोलि घोषणा गर्ने भन्ने थियो। आन्दोलनको तर्फबाट धेरै जना साथीहरू नहुने भएपछि कतै न कतैबाट निर्वाचन लडौं भन्ने हिसाबले प्रलोपाबाट लड्न लागेको हुँ,’ उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सैद्धान्तिक र वैचारिक रूपमा सहमत नभएकाले प्रलोपामार्फत अघि बढेको उनले बताए।
यसअघि प्रलोपाले उनलाई जेनजी प्रतिनिधिको रूपमा समानुपातिक सूचीमा राख्ने बताएका थिए।
तर समानुपातिक नभई प्रत्यक्षमै लड्ने चाहना व्यक्त गरेपछि शुक्रबार पार्टीको अध्यक्ष मण्डलले उनलाई चितवन क्षेत्र नम्बर १ मा लड्न भनेका हुन्।
स्नेही विकासको नामले पनि परिचित उनी राप्ती नगरपालिका-९ का हुन्।
उनी भूमिहीन किसान आन्दोलन, मिटरब्याज पीडितका आन्दोलन, वित्तीय शोषणमा परेका मजदुरको आन्दोलन, दलित आन्दोलनमा सहभागी हुँदै आएका छन्।
यसअघि यस क्षेत्रमा रास्वपाका हरि ढकालले जितेका थिए।