अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने भएका छन्। उनी यही माघ ५ गते जनकपुरमा रास्वपाले आयोजना गर्ने कार्यक्रममा पार्टी प्रवेश गर्न लागेको फेसबुकमार्फत् जानकारी दिएका छन्।
सर्लाही–४ बाट स्वतन्त्र सांसद जितेका सिंह त्यसअघि नेपाली कांग्रेसमा आबद्ध थिए। कांग्रेसले चुनावमा टिकट नदिएपछि स्वतन्त्र उठेर जितेका उनी पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग नियमित छलफलमा थिए।
‘यही माघ ५ गते जगत जननी माता सीताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमबाट आफ्नो नयाँ राजनीतिक अध्यायको सुरूआत गर्दैछु,’ उनले लेखेका छन्।
देश र मधेसमा रहेको भ्रष्टाचार कुशासनविरूद्ध हिजो स्वतन्त्र रहँदा उठाएको आवाज अब अझ बुलन्द हुने उनले बताएका छन्।
‘म लगायत देश र मधेसको हित चाहने मधेसमा शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पूर्वाधारको विकास चाहने सम्पूर्ण आमाबुवा तथा दिदीबहिनीहरूलाई यसै कार्यक्रममार्फत् जोडिन आह्वान गर्छु,’ उनले भनेका छन्।
माघ ५ गते रास्वपाले जनकपुरमा सभा राखेको छ। काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर बालेन शाह पनि पहिलोपटक राजनीतिक कार्यक्रममा सरिक हुँदैछन्। उक्त कार्यक्रममा पार्टी सभापति रवि लामिछानेलगायत नेताहरू सहभागी हुने रास्वपाले बताएको छ।