नेपाली कांग्रेका सभापति गगन थापाले संविधान, प्रचलित कानुन र पार्टीको विधान अनुसार निर्णय गरेको भन्दै निर्वाचन आयोगप्रति आभार व्यक्त गरेका छन्।
आयोगले विशेष महाधिवेशनको निर्णयलाई आधिकारिकता दिएपछि विज्ञप्ति जारी गर्दै यो कांग्रेसका सदस्य र शुभेच्छुकले गरेको इमानदार प्रयत्नको प्रतिफल भएको पनि बताएका छन्।
उनले भनेका छन्, 'यसले स्थापित गरेको छ – पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ। अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ।'
उनले कांग्रेसमा आवद्ध सबैलाई संयम, जिम्मेवार र एकताबद्ध हुन आग्रह गरेका छन्।
'विशेष महाधिवेशनमा सहभागी हुनुभएका–नहुनुभएका, सहमत हुनुभएका–नहुनुभएका सबै नेपाली कांग्रेसमा आवद्ध टोलदेखि केन्द्रसम्म, देश विदेशमा रहनुभएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई आग्रह गर्न चाहन्छु — यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन – कुनै अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकताबद्ध रहौं,' उनले वक्तव्यमा भनेका छन्।
अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अगाडि बढेको छ भन्दै विश्वास र भरोसा राख्न पनि भनेका छन्।
'रिफर्मको यात्रा सुरू भइसकेको छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एक ढिक्का भई लाग्नुपर्नेछ,' उनको वक्तव्यमा भनिएको छ।
'यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पूर्वसभापति शेरबहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौं,' गगनले भनेका छन्।
आजबाट कांग्रेसमा कुनै गुट र भागबन्डा नहुने बताएका छन्।
'आजबाट कांग्रेसमा कुनै गुट, गुटगत भागबण्डा हुने छैन, लाग्ने छैन। जिम्मेवारी फरक होला तर भुइँ तहमा रहेका सदस्य र तपाईंको केन्द्रीय सभापतिको समान हैसियत हो, हुनेछ। तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ,' उनले भनेका छन्।
नेपाली कांग्रेस पार्टी नेता र यसका सीमित सदस्यको मात्रै होइन, आम मानिसको सार्वजनिक पुँजी हो भएको उनको वक्तव्यमा उल्लेख छ।
'यस यात्रामा लोकतन्त्र र समुन्नतिका निम्ति रूपान्तरित कांग्रेस देख्न चाहने तमाम देश भित्र र बाहिर रहेका लाखौं शुभेच्छुकजनहरू प्रति विशेष आग्रह गर्न चाहन्छौं। नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्म आलोचना गर्दै समीक्षा गरेको छ। आजसम्मका उपलब्धिलाई समयको पदचाप अनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ। अब कांग्रेस बदलिएको छ, बदलिनेछ।'
नेपाली कांग्रेस आम नेपाली जनताको अपेक्षा र नव युवाको परिवर्तनको आकांक्षा अनुरुप अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै उनले भनेका छन्, 'एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ हामी बनाउनेछौं। अब कांग्रेसले मूल्य र सिद्धान्त विपरित गएर कुनै सम्झौता गर्ने छैन।'
'सत्ताका लागि जोसँग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ। जसरी हिजोका दिनमा हाम्रा अग्रजहरूले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिनुभयो त्यसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्नेछ। यसका लागि तपाईंहरूको थप साथ र विश्वास चाहिएको छ,' उनले भनेका छन्।