नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेनजी आन्दोलनले खोजेको सुशासन र रूपान्तरणको काम अब कांग्रेसले गर्ने बताएका छन्। जेनजी आन्दोलनपछि राजनीतिमा लाग्ने आकांक्षा बोकेका नवयुवाहरूलाई कांग्रेसमा आबद्ध हुन उनले आह्वान पनि गरेका छन्।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित 'सभापति गगन थापा नेतृत्वको कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस पार्टी हो' भन्ने निर्णय गरेपछि शुक्रबार राति सेतोपाटीसँग कुरा गर्दै महामन्त्री पौडेलले जेनजी आन्दाोलनको भावना र मर्म आत्मसात् गर्दै कांग्रेस पार्टी अघि बढ्ने बताएका हुन्।
'जेनजी नवयुवाहरू जुन सुशासन र बेथितिविरूद्ध सडकमा ओर्लेका थिए र जुन परिवर्तनको आकांक्षा लिएर राजनीतिमा लाग्न इच्छुक देखिएका छन्, उनीहरूको त्यो आकांक्षा अब कांग्रेस पार्टीबाट सम्भव छ,' महामन्त्री पौडेलले सेतोपाटीसँग भने, 'त्यसैले जेनजी आन्दोलनका अभियानी नवयुवाहरूलाई कांग्रेससँग सहकार्य गरेर अघि बढ्नुस् भन्ने मेरो आह्वान छ।'
विशेष महाधिवेशनले निर्दिष्ट गरेको विधान र कार्यक्रम अनुसार जेनजी युवाहरूलाई पनि पार्टीमा समेटेर अघि बढ्ने वातावरण बनेको उल्लेख गर्दै उनले भने, 'जेनजी आन्दोलनपछि राजनीतिमा लाग्ने आकांक्षा बोकेर अगाडि आएका नवयुवालाई पनि कांग्रेस पार्टीमा आबद्ध हुन म आह्वान गर्छु।'
महामन्त्री पौडेलले फागुन २१ को निर्वाचन जित्न पार्टीभित्र बृहत् एकता कायम गर्नुपर्ने हुँदा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर नगर्नेहरूलाई पनि सँगै मिलेर अघि बढ्न अपिल गरेका छन्।
'यो महाधिवनेशमा सहभागी हुनुभएका साथीहरू र सहभागी नहुनुभएका साथीहरू सबैलाई हामी अपिल गर्न चाहन्छौं, यो जित हामी सबैको हो। यो कांग्रेसलाई रूपान्तरणमा लैजाने अभियानको जित हो। सिंगो नेपाली कांग्रेस पार्टीको जित हो। आयोगको निर्णयलाई कोशेढुंगा बनाएर हामी सबै पार्टी रूपान्तरणको निम्ति अगाडि बढ्नुपर्नेछ। त्यसैले निर्वाचन आयोगको निर्णयबाट कसैले पनि निराश हुनुपर्ने जरूरी छैन। यसलाई हामी सबैले ऊर्जा र उत्साहका साथ लिएर एकताबद्ध रूपमा अघि बढौं,' महामन्त्री पौडेलले भने।
उनले कांग्रेसको नयाँ कार्यसमिति कसैलाई पनि काखापाखा नगरी विधिसम्मत ढंगबाट अघि बढ्छ भन्ने विश्वास सबै नेता तथा कार्यकर्ताहरूले लिन पनि आग्रह गरे।
'विशेष महाधिवेशन सम्पन्न भएपछि हामी त्यसले निर्वाचित गरेको कार्यसमितिलाई अद्यावधिक गर्न निर्वाचन आयोग गएका थियौं। त्यस आधारमा आयोगले विशेष महाधिवेशनको म्यान्डेटलाई आधिकारिकता दिएको छ। यसले कांग्रेस रूपान्तरणमा धेरै मद्दत गर्नेछ। अब कांग्रेस पार्टी विधिसम्मत ढंगबाट अगाडि बढ्नेछ। राष्ट्रिय आकांक्षा पूरा गर्ने खालका नीतिहरू ल्याउने छ र विशेष महाधिवेशनको कार्यादेशअनुसार पार्टीले अब गर्ने निर्णयहरू देशको समृद्धि र रूपान्तरणतर्फ लक्षित हुने छन्,' महामन्त्री पौडेलले भने।
विशेष महाधिवेशनले पारित गरेको विधान र कार्यक्रम अनुसार कांग्रेस पार्टीलाई सबैको अपेक्षा पूरा गर्ने हिसाबले अगाडि बढाउने र अहिलेको समयमा देशले खोजेको सुशासन र परिवर्तनकारी नीति निर्माण गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
कतिपयले विशेष महाधिवेशनपछि पार्टी एकता खल्बलिने हो कि भन्ने शंका गरिरहेका बेला महामन्त्री पौडेलले त्यस्तो शंका नलिन आग्रह गर्दै भने, 'हामी त्यस्तो स्थिति आउन दिने छैनौं। लामो समयदेखि कांग्रेसमा लागेकाहरूको सम्मान र स्वाभिमान कायम राख्ने म विश्वास दिलाउन चाहन्छु। सबैलाई भूमिका दिएर सँगसँगै बढ्ने विश्वास पनि दिलाउन चाहन्छु।'
'म पार्टीका अग्रजहरूलाई पनि अपिल गर्न चाहन्छु, हामी सबै मिलेर एकताको वातावरण बनाउन पहल गरौं,' उनले भने।
महामन्त्री पौडेलले विशेष महाधिवेशनले निर्वाचित गरेको कार्यसमितिको कार्यभार फागुन २१ को आमनिर्वाचनमा जनमत प्राप्त हुने स्थिति निर्माण गर्ने र आफ्ना उम्मेदवारहरू जिताउने भएकाले चुनाव सकिएपछि जतिसक्दो छिटो पन्ध्रौं महाधिवेशन आयोजना गर्ने पनि बताए।
'अहिले चर्चा भएको वैशाख महिनामै वा फागुन २१ को निर्वाचनपछि हामीलाई नियमित महाधिवेशन गर्ने तयारीको निम्ति जति समय चाहिन्छ, त्यति समय राखेर पन्ध्रौं महाधिवेशन आयोजना गरिनेछ,' महामन्त्री पौडेलले भने।
उनले अब नयाँ कार्यसमितिले पूर्वसभापति शेरबहादुर देउवालाई भेटेर अभिभावकको भूमिका निर्वाह गर्न अनुरोध गर्ने पनि बताए।
'अरू अग्रजहरूलाई पनि म अभिभावकीय भूमिका निर्वाह गर्न अनुरोध गर्न चाहन्छु,' उनले भने।
सानेपास्थित पार्टी कार्यालय जाने विषयमा महामन्त्री पौडेलले भने, 'पार्टी कार्यालय जाने कुरा अप्ठ्यारो हुँदैन। यसका लागि सबभन्दा पहिला सबै साथीहरूलाई संयम हुन, धैर्य राख्न अनुरोध गर्छु। अनि, विशेष महाधिवेशनअघि र पछिका सबै घटनाक्रम बुझाएर अगाडि बढ्ने छौं।'