नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विवाद संवादबाट समाधान हुने बताएका छन्।
शनिबार सानेपा जानुअघि सेरोफेरोका पत्रकार केशवराज जोशीसँग कुराकानी गर्दै नेता कोइरालाले संवादमार्फत समाधान निकाल्दै कांग्रेस पुनः एक हुने बताएका हुन् ।
'फेरि मिल्छ। मिलाउनुपर्छ। संवाद गर्नुपर्छ। संवादबाट नेपाली कांग्रेसको विवाद सल्टिन्छ,' उनले भने, 'विश्वमा लडाइँहरू हुन्छन्। फेरि मिलेकै हुन्छ। सबै मिलाइन्छ।'
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितको कार्यसमितिलाई शुक्रबार निर्वाचन आयोगले मान्यता दिएको थियो।
निर्वाचन आयोगले कांग्रेसको आधिकारिकता टुंगो लगाउनुअघि सानेपामा पत्रकार सम्मेलन गरी देउवा पक्षले आयोगबाट आफ्नो पक्षमा निर्णय नभए देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको थियो।
आयोगको निर्णय र आगाामी रणनीति तय गर्न विघटित केन्द्रीय समिति बैठक बस्दैछ।