नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री वीरेन्द्रकुमार कनौडिया एमाले प्रवेश गरेका छन्।
शनिबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायत पदाधिकारी तहका नेताहरूले कनौडियालाई पार्टीमा स्वागत गरेका हुन्।
उनलाई कपिलवस्तु-३ बाट आगामी प्रतिनिधि सभामा एमालेबाट उम्मेदवार बन्ने गरी अध्यक्ष ओलीले टिकट प्रदान गरेको प्रेस चौतारीका पूर्वअध्यक्ष गणेश बस्नेतले फेसबुकमा लेखेर जानकारी गराएका छन्।
कनौडिया लुम्बिनी प्रदेशसभामा कांग्रेसका पूर्वसांसद हुन्। अघिल्लो संसदमा उनी प्रदेश संसदीय दल नेता समेत बनेका थिए।
२०७४ मा उनी कपिलवस्तु-३ को प्रदेशसभा (ख) बाट विजयी भएका थिए। त्यतिबेला उनले ६ हजार ३०७८ मत प्राप्त गर्दै वाम गठबन्धनका उम्मेदवार जावेद आलम खानलाई पराजित गरेका थिए।
२०७९ सालको निर्वाचनमा भने कनौडिया सोही क्षेत्रबाट राप्रपाका जानकी प्रसाद यादवसँग प्रदेशसभा सदस्यमा पराजित भएका थिए।
कनौडियाले नेपाली कांग्रेसको स्थानीय नेतृत्वसँगको असमझदारीका कारण पार्टी परित्याग गरेर एमाले प्रवेश गरेको बताए। ‘नेपाली कांग्रेस पार्टीप्रति मेरो कुनै पनि गुनासो छैन स्थानीय पार्टी नेतृत्वसँग भने समझदारी हुन सकेन, उनले भने।
यसअघि नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका कनौडियाले पार्टी फुट्ने अवस्था आएको भन्दै पुस २३ गते हस्ताक्षर फिर्ता लिएका थिए।
कनौडियाले एमाले प्रवेशसँगै आफूले सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने पक्का भएको बताए।
‘क्षेत्र नंं ३ बाट मैले एमालेबाट उम्मेदवारी दर्ता गर्दै छु, एमालेबाट टिकटको सुनिश्चित समेत भइसकेको छ, उनले भने। विघटित प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट एमालेका मङ्गलप्रसाद गुप्ता विजयी भएका थिए।
उनी चिनी मिल र नेपालगन्ज मेडिकल कलेजका सञ्चालक हुन्। कनौडिया २०५८ सालमा जलस्रोत सहायक मन्त्री पनि बनेका थिए।