नेकपा एमालेको शनिबार सम्पन्न सचिवालय बैठकले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार चयन गरेको छ। त्यस क्रममा एमालेको ११औं महाधिवेशनमा अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गरेका अधिकांश नेताको टिकट 'होल्ड' गरिएको छ।
बैठकले केही निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याए पनि महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको टिमसँग प्रतिस्पर्धा गरेका अधिकांश नेताको टिकट होल्ड गरिएको हो।
ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल काठमाडौं-५ बाट चुनाव लड्दै आएका थिए। उनको क्षेत्रमा उम्मेदवार तोकिएको छैन। उपमहासचिव लेखराज भट्टका अनुसार काठमाडौं-५ मा अध्यक्ष ओलीले पछि निर्णय लिनेछन्।
त्यस्तै, काभ्रे-२ बाट चुनाव जितेका गोकुल बास्कोटा, ताप्लेजुङबाट जितेका योगेश भट्टराई, चितवन-१ बाट सुरेन्द्र पाण्डे र मोरङ-६ बाट विनोद ढकालको पनि टिकट होल्ड गरिएको छ।
महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट गोकुल र विनोद सचिवमा, योगेश उपमहासचिवमा र पाण्डे महासचिवमा उठेका थिए।
ईश्वर समूहबाट सचिवमा प्रतिस्पर्धा गरेका मोरङका विनोद ढकाल यसपटक क्षेत्र नम्बर १, ४ र ६ बाट सिफारिसमा परेका थिए। मोरङ-१ बाट एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले टिकट पाएका छन। ढकालले यसअघि प्रतिस्पर्धा गरेको मोरङ-४ बाट जीवन घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन्।
मोरङको ५ र ६ लाई एमालेले होल्डमा राखेको छ। मोरङ-५ मा गएको चुनावमा एमालेबाट विद्रोह गरेका स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले चुनाव जितेका थिए। मोरङ-६ मा कांग्रेसका शेखर कोइरालाले जित्दा एमालेका लालबाबु पण्डित पराजित भएका थिए।
मोरङ-६ मा पण्डित र ढकाल दुवैको दाबी छ।
त्यस्तै, काठमाडौं-४ मा पनि उम्मेदवार तोकिएको छैन। उक्त क्षेत्र ओली पक्षकै नेता राजन भट्टराई चुनाव लड्दै आएको र सधैं कांग्रेस सभापति गगन थापाले जित्दै आएको क्षेत्र हो।
काठमाडौं-९ मा पनि टिकट होल्ड गरिएको छ। यसअघि उक्त क्षेत्र कृष्णगोपाल श्रेष्ठको हो। श्रेष्ठ अहिले ईश्वर पोखरेल निकट मानिन्छन्।
झापा-३ मा पनि एमालेले कुनै उम्मेदवार तोकेको छैन। उक्त क्षेत्रलाई एमालेले राप्रपासँगको तालमेलका लागि खाली राखेको एमाले स्रोतको भनाइ छ।
यसअघि अध्यक्ष ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई दुई पटक सहयोग गर्दै झापा-५ मा राप्रपाबाट आफूले सहयोग लिएका थिए।
सचिवालय बैठकको निर्णय अनुसार केन्द्रीय कमिटीमा स्थान नपाएका एलपी सावा प्रतिनिधिसभा निर्वाचनको टिकटबाट पनि वञ्चित भएका छन्। झापा-४ बाट यसअघि २०७४ र २०७९ मा दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित सावालाइ यस पटक एमालेले टिकट दिएको छैन।
एमालेको ११औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्न इच्छुक एलपी सावालाई अध्यक्ष ओलीले आफ्नो टिममा समेटेका थिएनन्।
झापा-४ बाट यस पटक केन्द्रीय सदस्य बनेका मनोज ताम्लीले प्रतिनिधिसभा निर्वाचनको टिकट पाएका छन्।