नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले रूपन्देही–१ बाट चुनाव लड्न अस्वीकार गरेका छन्।
शनिबार मध्यरातसम्म चलेको सचिवालय बैठकमा विश्वकर्माको नाम रूपन्देही–१मा प्रस्तावित थियो। अघिल्लो निर्वाचनमा उनी त्यहाँबाट २४ हजार ८८२ मतसहित निर्वाचित भएका थिए। प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले २१ हजार ३१८ मत ल्याएका थिए। २०७४ को निर्वाचनमा पनि विश्वकर्मा त्यही क्षेत्रबाट ३४ हजार ७५२ मतसहित निर्वाचित भएका थिए। त्यस क्षेत्रबाट उनी तीनपटक चुनाव लडिसकेका छन्।
यसपटक भने उम्मेदवार बन्न नमानेको एक पदाधिकारीले बताए।
‘उहाँले म तीन पटक चुनाव लडिसकेँ, यसपटक उम्मेदवार हुन्न, अरूलाई मौका दिऔं भन्नुभयो,’ उनले भने। त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले उनको ठाउँ खाली राख्न निर्देशन दिएका थिए। अहिले अध्यक्षले टुंग्याउने गरी एमालेले त्यस क्षेत्रमा उम्मेदवार खाली राखेको छ।
त्यहाँमात्र होइन रूपन्देहीमा एमालेले क्षेत्र नम्बर ३ र ५ मात्रै टुंगो लगाएको छ। क्षेत्र नम्बर ३ मा बासुदेव घिमिरे उम्मेदवार बन्ने भएका छन्। क्षेत्र नम्बर ५ मा खिमलाल भट्टराईको नाममा निर्णय भएको छ। क्षेत्र नम्बर १, २, ४ खाली राखिएको छ। यी सबै ठाउँमा अध्यक्ष ओलीले उम्मेदवार टुंग्याउने छन्।
क्षेत्र नम्बर २ मा उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार हुँदै आएका थिए। जित्दै पनि आएका थिए। त्यही क्षेत्रबाट पछिल्ला चार चुनाव पौडेलले लगातार जितेका छन्। २०७९ सालको निर्वाचनमा पौडेल रूपन्देही–२ बाट अघिल्ला चुनावमा भन्दा कम मतान्तरमा निर्वाचन जितेका थिए। पौडेलले गत निर्वाचनमा २७ हजार १६५ मतसहित जितेका थिए। प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेलले २५ हजार ७९५ मत ल्याएका थिए।
यसपटक उनी पाल्पा–२ बाट उम्मेदवार बनेका छन्। पाल्पा–२ मा गत निर्वाचनमा ठाकुर गैरेले चुनाव जितेका थिए। यसपटक गैरेलाई पन्छाएर पौडेल उक्त क्षेत्रमा जान लागेका हुन्।
पौडेल पाल्पा जाने भएपछि उपाध्यक्ष गोकर्ण विष्ट, योगेश भट्टराई लगायत नेताहरूले चासो राखेका थिए। उनीहरूले पौडेललाई पनि सोधेका थिए। जबाफमा पौडेलले केही छैन भनेको एक पदाधिकारीले बताए।
‘उहाँ सुरक्षित हुन पाल्पा–२ लाग्नुभयो। त्यसो हुँदा ठाकुर गैरेलाई अन्याय भयो,’ ती पदाधिकारीको भनाइ छ।