काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट राजीनामा दिने तयारी गरेका छन्।
मेयर बालेनले आज राजीनामा दिने तयारी रहेको उनको सचिवालयले जनाएको छ।
मेयर बालेनले उपमेयर सुनिता डंगोललाई राजीनामा बुझाउनेछन्।
वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका मेयर शाहले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु दुई दिनअघि मेयर पदबाट राजीनामा दिन लागेका हुन्।
निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन माघ ६ गते तोकिएको छ।
मेयरबाट राजीनामा दिएपछि मेयर बालेन भोलि (सोमबार) पार्टी सभापति रवि लामिछानेसँगै जनकपुर जाने कार्यक्रम तय भएको छ।
जनकपुरमा पार्टी प्रदेश कमिटीले जनकपुरमा विस्तारित भेला राखेको छ।
भेलामा मधेस प्रदेश समितिका पदाधिकारी, सदस्य, आठवटै जिल्ला समितिका सभापतिहरूलाई बोलाइएको छ।
रास्वपा मधेस सभापति तपेश्वर यादवले त्यस दिन बालेन महोत्तरीको एकडारा गाउँपालिकास्थित आफ्नो पुर्ख्यौली घर (महोत्तरीको निर्वाचन क्षेत्र ३) समेत जाने कार्यक्रम रहेको जानकारी दिए।
बालेन शाहको पुर्ख्यौली घरमा अहिले उनका आफन्त, परिवारका सदस्यहरूको बसोबास छैन। पुर्ख्यौली घर एकडारा गाउँपालिकाले भाडामा लिएर प्रशासकीय भवनका रूपमा उपयोग गरिरहेको छ।
बालेन पुर्ख्यौली क्षेत्र गए भने स्थानीय नेता–कार्यकर्तासँग छलफल गर्ने गरी सानो कार्यक्रमको तयारी भइरहेको उनले बताए।
यसबाहेक जनकपुरमै सभाको तयारी गरिरहेको पनि यादवले बताए।