नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनी पक्षका नेताहरू सर्वोच्च अदालत गएका छैनन्।
निवर्तमान सभापति शेरबहादुर देउवानिकट नेताहरू आज रिट लिएर सर्वोच्च अदालत गए पनि नेता कोइरालासहित उनीनिकट नेताहरू सर्वोच्च नगएका हुन्।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, एनपी साउद, मीनबहादुर विश्वकर्मालगायत नेताहरू सर्वोच्चमा रिट लिएर पुगेका थिए।
उनीहरूले निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै रिट दिएका छन्।
तर नेता कोइरालासहित उनी पक्षका नेताहरू सर्वोच्चमा रिट लिएर नगएका हुन्।
कोइरालानिकट एक नेताले आफूहरू सर्वोच्चमा लाइन लागेर जाने पक्षमा नरहेको बताए।
‘चार तारे झन्डा र रूखसहित विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिइसकेको छ, चार तारे झन्डा र रूख जहाँ छ त्यही कांग्रेस हो, हामी त्यही रहने हो,’ ती नेताले भने, ‘हामी अदालतमा लाइन लागेर जाने पक्षमा छैनौं, हिजै विघटित केन्द्रीय समितिको सानेपाको बैठकमा हामीले यो कुरा भनिसकेका थियौं, त्यसैले आज हामी सर्वोच्च गएनौं।’
कोइरालानिकट निवर्तमान केन्द्रीय सदस्य सञ्जय गौतमले आफू सर्वोच्च अदालत नगएको बताए।
‘व्यक्तिगत रूपले म अदालत जान्न, पार्टी जाने कुरामा आपत्ति छैन,’ उनले सेतोपाटीसँग भने।
निवर्तमान कार्यवाहक सभापति नेतृत्वमा देउवा पक्षका नेताहरू सर्वोच्च अदालत गए पनि शेखरनिकट निवर्तमान उपसभापति धनराज गुरूङ, निवर्तमान सहमहामन्त्रीहरू बद्रीप्रसाद पाण्डे र जीवन परियारलगायत नेताहरू आज सर्वोच्च अदालत गएका थिएनन्।
नेता कोइरालाले आज दिउँसो १ बजे आफूनिकट नेताहरूसँग कुराकानी गर्दैछन्। हिजो बिहान पनि कोइरालाले आफ्नो सम्पर्क कार्यालय बिशालनगरमा कुराकानी गरेका थिए। त्यहाँ अधिकांश नेताहरूले चुनावमा सहभागी हुनुपर्ने र पार्टी एकताबद्ध बनाउन भूमिका खेल्नुपर्ने कुरा राखेका थिए।
तस्बिरहरू:
-ink-1768715616.jpeg)
-ink-1768715614.jpeg)
-ink-1768715614.jpeg)
-ink-1768715613.jpeg)
सबै तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी।