पूर्व शिक्षामन्त्री विद्या भट्टराइले स्थानीय तहका जनप्रतिनिधिले कार्यकाल पूरा नगरी राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवार बन्नु लोकतान्त्रिक मुल्य मान्यता विपरीत भएको बताएकी छन्।
प्रतिनिधिसभा सदस्यले ५ वर्षका लागि शपथ लिए पनि कार्यकाल पूरा गर्न नपाएको भन्दै उनले स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल सुरक्षित भएको बताएकी छिन्। लोकतन्त्र नारामा मात्र नभई व्यवहारमा पनि प्रस्तुत गर्ने सोच विकास गर्नुपर्ने उनले बताइन् ।
‘प्रतिनिधिसभाका सदस्यहरुले ५ वर्षका लागि शपथ लिए पनि कार्यकाल पूरा गर्न पाएनन्। स्थानीय तह त ५ वर्षका लागि सुरक्षित छ नि,’ उनले सााजिक सञ्जालमा भनेकी छिन्, ‘आफ्नो कार्यकाल पूरा नहुँदै धमाधम राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवारी दिनु लोकतान्त्रिक मुल्य, विधि र मान्यता विपरीत होइन र? लोकतन्त्र नारा मात्र होइन, व्यवहार पनि हो र त्यो व्यवहार आफैबाट प्रस्तुत गर्नुपर्दछ भन्ने सोच सबैले विकास गरौं ।’
नेकपा एमालेले प्रतिनिधि सभा सदस्य उम्मेदवार टुंगो लगाएपछि पार्टीका पूर्वकेन्द्रीय सदस्य भट्टराईले आइतबार उक्त धारणा राखेकी हुन्। एमालेले उठाएका केही उम्मेदवार स्थानीय तहका प्रमुख तथा उपप्रमुख छन्।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री हुँदा शिक्षा क्षेत्रको समस्या समाधान गर्न उनले पहल गरेकी थिइन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र तत्कालीन अर्थमन्त्री विष्णु पौडेले शिक्षा क्षेत्रको समस्या समाधान गर्न सहयोग नगरेको भन्दै उनले राजीनामा दिएकी थिइन्।
स्थानीय तहका जनप्रतिनिधिले धमाधाम राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न थालेपछि उनले उक्त प्रतिक्रिया दिएकी हुन्।