नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले निर्वाचन आयोगको निर्णय खारेजीको मागसहित सर्वोच्चमा रिट दिएर आजै पेसी राख्न माग गरेका छन्।
आइतबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वमा कांग्रेस नेताहरू रिट लिएर सर्वोच्च पुगेका थिए।
सर्वोच्चमा पुगेर खड्कासहित नेताहरूले मुख्य रजिस्ट्रार विमल पौडेलसँग भेटेर निर्वाचन आयोगको निर्णयविरूद्धको रिटलाई आजै पेसीमा राख्न माग राखेका हुन्।
हरेक दिन सर्वोच्च अदालतमा बिहान साढे १० बजे नै गोलाप्रथा अनुसार पेसी तोक्ने व्यवस्था छ। ११ बजेदेखि त सर्वोच्चमा इजलास सुरू हुन्छ।
कांग्रेसका नेताहरूले पेस गरेको रिट अध्ययनपछि दर्ता गर्ने प्रक्रियामा छ।
तर सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले सर्वोच्च अदालत नियमावलीअनुसार आजै पेसी राखेर सुनुवाइ गर्न नमिल्ने जबाफ दिएका थिए।
‘सर्वोच्च अदालतको नियमावली, कानुन बमोजिम नै हामी अगाडि बढ्छौं,’ पौडेलले कांग्रेस नेताहरूसँग भनेका थिए।
सर्वोच्च अदालतले आज कांग्रेस नेताहरूको रिट दर्ता गरेपछि मंगलबार मात्रै पेसी चढ्नेछ। सोमबार सार्वजनिक बिदा भएकाले पर्सी मात्रै सुनुवाइ हुने भएको हो।
निवर्तमान प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सर्वोच्च अदालतले रिट दर्ता गरेको र आजै सुनुवाइका लागि पेसी चढाउन माग गरेको बताए।
‘निर्वाचन आयोगको निर्णय खारेज गरि पाऊँ भनेर हामीले रिट दिएका छौं,’ सर्वोच्च अदालत परिसरमा उनले पत्रकारहरूसँग भने, ‘चाँडै पेसी सूचीमा चढ्छ भन्ने हामीलाई आशा छ।’