काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले करिब १५ महिना कार्यकाल बाँकी छँदै राजीनामा दिएपछि बाँकी अवधिका लागि चुनाव हुन्छ कि हुँदैन भन्ने चासोको विषय बनेको छ।
वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका बालेन शाहले आज पहिलो पटक पार्टी कार्यालय 'घन्टीघर' प्रवेश गर्नुअघि मेयर पदबाट राजीनामा दिएका हुन्।
स्थानीय तह निर्वाचन ऐनले कुनै कारणबाट मेयर लगायतका जनप्रतिनिधिको पद रिक्त भए बाँकी अवधिका लागि उपनिर्वाचन हुने व्यवस्था गरेको छ।
तर त्यो बाँकी अवधि एक वर्षभन्दा कम भए उपनिर्वाचन नगर्ने व्यवस्था पनि त्यही कानुनमा उल्लेख छ।
काठमाडौं महानगरका हकमा मेयरको कार्यकाल एक वर्षभन्दा बढी समय बाँकी रहेकाले उपनिर्वाचन गर्न कानुनले रोकेको छैन।
उपनिर्वाचन घोषणा गर्ने बेला जुन सरकार हुन्छ, त्यो सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर मिति तय गर्नुपर्ने कानुनी व्यवस्था छ।
आयोगका एक अधिकारीका अनुसार आयोगले कति ठाउँमा निर्वाचन गर्नुपर्ने छ भन्ने हेरेर सरकारसँग छलफल गर्नेछ।
'घोषणा गर्नुअघि कति ठाउँमा उपनिर्वाचन गर्नुपर्ने छ हेरिन्छ, त्यसपछि सरकारले मिति तय गर्ने हो,' उनले भने।
चुनाव भएर अर्को मेयर नआउञ्जेल उपमेयरले कार्यवाहक भएर काम गर्ने कानुनी व्यवस्था छ। काठमाडौंका उपमेयर सुनीता डंगोल छिन्। बालेनको राजीनामापछि उनी स्वत: कार्यवाहक मेयर भएकी छन्। उनी नेकपा एमालेबाट निर्वाचित भएकी हुन्।
स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरको मेयर जितेका बालेनले रास्वपाबाट फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका हुन्। उनले आइतबारैदेखि लागू हुने गरी उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका छन्।