नेकपा एमालेका उमहासचिव योगेश भट्टराईले पार्टी केन्द्रीय कार्यालयमा नोट अफ डिसेन्ट (लिखित असहमति) दर्ता गराएका छन्।
शनिबार बसेको सचिवालय बैठकमा टिकट वितरणमा गरिएको भन्दै उनले निर्णयमा नोट अफ डिसेन्ट राखेका हुन्।
नोट अफ डिसेन्टमा भट्टराईले यसअघि निर्वाचन जितेका अनुहारलाई प्राथमिकता दिनुपर्ने, तलका जनप्रतिनिधिहरूलाई कार्यकाल छँदै माथि उम्मेदवार बनाउने कुरा रोक्नुपर्ने उल्लेख गरेका छन्।
एमालेले मधेस, बागमती लगायत प्रदेश सभामा निर्वाचित सांसदहरूलाई राजीनामा दिन लगाएर उम्मेदवार बनाउने भएको छ। मधेस प्रदेश सभामा चार जना र बागमतीमा दुई जना हाराहारी प्रदेश सभा सदस्य राजीनामा दिएर संघीय सांसद लड्ने तयारी गरेका छन्।
‘तल जितेका जनप्रतिनिधिलाई राजीनामा दिएर उम्मेदवार बनाइनु गलत अभ्यास हो। एक त उहाँहरूको कार्यकाल, जिम्मेवारी, पार्टीको प्रतिबद्धता बाँकी नै छ, अर्को त्यहाँ उपचुनाव गर्नुपर्ने हुन्छ,’ भट्टराईले सचिवालय बैठकमा भनेका थिए। आज दर्ता गरिएको नोट अफ डिसेन्टमा पनि उनले यिनै कुरा उल्लेख गरेका छन्।
अर्को भट्टराईले प्रतिनिधि सभाको उम्मेदवार छान्दा पार्टी एकतालाई ध्यानमा राख्नुपर्ने बताएका थिए। महाधिवेशनमा प्रतिस्पर्धा गरेको, फरक गुटमा लागेको आँखाबाट हेर्दा एकताको भावना ओझेल पर्ने उनले बताएका थिए।
एमाले सचिवालय बैठकले योगेश भट्टराईको निर्वाचन क्षेत्र होल्ड गरेको छ। यसअघि भट्टराई ताप्लेजुङबाट चुनाव जित्दै आए पनि यसपटक उनलाई टिकट दिइएको छैन। त्यहाँ अध्यक्ष केपी शर्मा ओलीले नै टुंग्याउने गरी निर्णय गरिएको छ।