फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनकै लागि अहिलेसम्म तीन जना प्रभावशाली नेताहरूले दल फेरेका छन्।
मधेस प्रदेशका पूर्वमुख्यमन्त्री रहेका जनमत पार्टीका नेता सतिशकुमार सिंह, पूर्वमन्त्री एवं कांग्रेस नेता वीरेन्द्रकुमार कनौडिया र जसपा नेपालका नेता वीरेन्द्र महतोले दल परिवर्तन गरेका हुन्।
जनमत छाडेका सतिशकुमार सिंहलाई एमालेले उम्मेदवार बनाएको छ। गत असोजमा जनमत पार्टीले उनलाई अनुशासनको कारबाही गरेको थियो।
भदौ २३ को जेनजी आन्दोलनपछि मुख्यमन्त्रीबाट राजीनामा दिने बताएका सिंहले पछि पद छाड्न आनाकानी गरेका थिए।
दलले फिर्ता बोलाउँदा पनि पद त्याग्न अस्वीकार गरेपछि सदनमा जनमतका सांसद विभाजित भएका थिए। विश्वासको मत लिने अड्डी कसेका उनले अन्ततः पदबाट राजीनामा दिएका थिए।
सिंह आफैले स्वाभिमान पार्टीबाट चुनाव लड्ने बताएका छन्।
'प्रतिनिधिसभा चुनावका लागि माघ ६ गते मनोनयन दर्ता स्वाभिमान पार्टीबाट हुनेछ,' उनले भनेका छन्।
शनिबार मध्यरातसम्म बसेको सचिवालय बैठकले सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। एमालेले पार्टी प्रवेश नै नगराई उनलाई उम्मेदवार बनाएको हो।
उनले आफूलाई एमालेले समर्थन गरेको बताएका छन्।
'म एमाले प्रवेश गरेको छैन। उहाँहरूले हामीलाई समर्थन गर्ने भन्नुभएको हो,' उनले भने।
जनमत पार्टीका नेता चन्दन सिंहले पनि पूर्वमुख्यमन्त्री सिंह जनमतमा नरहेको बताए।
'उहाँको भाइले स्वाभिमान पार्टी गठन गर्नुभएको छ, त्यसैबाट लड्ने बताउनुभएको छ,' उनले भने। २०७९ सालको प्रदेशसभा निर्वाचनमा सिंह सप्तरी २(२) बाट निर्वाचित भएका थिए।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री वीरेन्द्रकुमार कनौडिया पनि एमाले प्रवेश गरेका छन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायत पदाधिकारी तहका नेताहरूले पार्टीमा स्वागत गरेका हुन्।
उनलाई कपिलवस्तु-३ बाट आगामी प्रतिनिधिसभामा एमालेबाट उम्मेदवार बन्ने गरी अध्यक्ष ओलीले टिकट प्रदान गरेको प्रेस चौतारीका पूर्वअध्यक्ष गणेश बस्नेतले फेसबुकमा लेखेर जानकारी गराएका छन्।
कनौडिया लुम्बिनी प्रदेशसभामा कांग्रेसका पूर्वसांसद हुन्। अघिल्लो संसदमा उनी प्रदेश संसदीय दलका नेता समेत बनेका थिए।
२०७४ मा उनी कपिलवस्तु-३ को प्रदेशसभा (ख) बाट विजयी भएका थिए। त्यति बेला उनले ६ हजार ३७८ मत प्राप्त गर्दै वाम गठबन्धनका उम्मेदवार जावेद आलम खानलाई पराजित गरेका थिए।
२०७९ सालको निर्वाचनमा भने कनौडिया सोही क्षेत्रबाट राप्रपाका जानकी प्रसाद यादवसँग प्रदेशसभा सदस्यमा पराजित भएका थिए।
कनौडियाले नेपाली कांग्रेसको स्थानीय नेतृत्वसँगको असमझदारीका कारण पार्टी परित्याग गरेर एमाले प्रवेश गरेको बताए।
'नेपाली कांग्रेस पार्टीप्रति मेरो कुनै पनि गुनासो छैन, स्थानीय पार्टी नेतृत्वसँग भने समझदारी हुन सकेन,' उनले भने।
यसअघि नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका कनौडियाले पार्टी फुट्ने अवस्था आएको भन्दै पुस २३ गते हस्ताक्षर फिर्ता लिएका थिए।
कनौडियाले एमाले प्रवेशसँगै आफूले सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने पक्का भएको बताए।
'क्षेत्र नम्बर ३ बाट मैले एमालेबाट उम्मेदवारी दर्ता गर्दै छु, एमालेबाट टिकटको सुनिश्चित समेत भइसकेको छ,' उनले भने।
विघटित प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट एमालेका मंगलप्रसाद गुप्ता विजयी भएका थिए। कनौडिया चिनी मिल र नेपालगन्ज मेडिकल कलेजका सञ्चालक हुन्। कनौडिया २०५८ सालमा जलस्रोत सहायक मन्त्री पनि बनेका थिए।
आइतबार नै जनता समाजवादी पार्टी नेपाल छाडेर वीरेन्द्र महत जनमत पार्टी प्रवेश गरेका छन्।
उनले जनमत पार्टीका अध्यक्ष सिके राउतसँग सिरहा-४ बाट टिकट लिएका हुन्।
२०७९ सालको निर्वाचनमा उनी सोही क्षेत्रबाट विजयी भएका थिए। महतोले उक्त क्षेत्रमा २४ हजार १०२ मत ल्याएका थिए। उक्त निर्वाचन क्षेत्रमा वीरेन्द्रप्रसाद साहले १६ हजार २९४ मत ल्याएका थिए।
उनी २०६५ सालबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा आवद्ध भएका थिए। २०७० सालमा उनी समानुपातिक सांसद भएका थिए।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते प्रत्यक्षतर्फ मनोनयन दर्ता हुँदैछ।