नेपाली कांग्रेसका नेता सुनिल शर्माले सभापति गगन थापा र नेता शेखर कोइराला मिलेर जाने निर्णय भइसकेको बताएका छन्।
नेता कोइरालाले आज काठमाडौंको बत्तिसपुतलीमा राखेको आफूनिकट नेता कार्यकर्ताको भेलामा उपस्थित भएका शर्माले भने, ‘शेखर दाइहरू गगन थापासँग मिलेर जाने निर्णय भइसकेको कुरा हो।’
उनले कोइराला परिवार पार्टी एकताको पक्षमा रहेको पनि बताए।
‘कोइराला परिवारलाई यो पार्टी फुटेको मन परेको होला? उहाँहरूको त पार्टी बनाउन कति वर्ष जेल बसेको छ। सर्वस्वहरण भएको छ। आफ्नो सर्वस्वहरण गरेर बनाएको पार्टी आफू जलेर भए पनि शेखर कोइरालाले पार्टी बचाइदिनुहुन्छ। यसरी बुझ्नुपर्छ। पार्टी बचाउनुपर्छ। पार्टी बचाउन लागि रहनुभएको छ,’ उनले भने।
नेता शर्माले कांग्रेस सभापति थापा पनि पार्टीलाई एकताबद्ध बनाएर लैजाने लागि परेको बताए।
निर्वाचनमा विजयी हुनलाई पनि कांग्रेसका सबै समूह गगन थापा नेतृत्वमा एकता भएर अघि बढ्नुको विकल्प नरहेको उनले बताए।
(न्युज एजेन्सी नेपाल)