धरानमा बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।
स्कुल बस भए पनि बसमा विद्यार्थी भने नभएको धरानका प्रहरी प्रमुख डिएसपी भीषणबाबु राईले जानकारी दिए।
धरान १३ स्थित जिरो प्वाइन्ट क्षेत्रमा बस दुर्घटना भएको हो।
भेडेटारबाट धरानतर्फ गइरहेको को १ ख ७११९ नम्बरको स्कुल बस जिरो प्वाइन्ट नजिक अनियन्त्रित भई दुर्घटनामा परेको हो।
बसले सडक छेउमा रहेको ‘न्यु शबा मेडिकल’ नामक औषधि पसलमा ठक्कर दिँदा पसलमा समेत क्षति पुगेको छ।
दुर्घटनामा मृत्यु भएका व्यक्तिहरू बसभित्र सवार थिए वा बाहिर रहेका थिए भन्ने विषयमा अहिलेसम्म स्पष्ट हुन नसकेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनासम्बन्धी थप जानकारी संकलन गर्ने काम भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको छ।