नेकपा एमालेले मोरङको क्षेत्र नम्बर ६ मा विनोद ढकाललाई उम्मेदवार बनाउने भएको छ।
मोरङका ६ वटा क्षेत्र मध्ये क्षेत्र नम्बर ५ र ६ मा एमालेले उम्मेदवार टुंगो लगाउने बाँकी थियो। दुवै क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट टुंगो लगाउने शनिबारको सचिवालयले निर्णय गरेको थियो।
स्रोतका अनुसार क्षेत्र नम्बर ६ मा उठ्नका लागि ओलीले ढकाललाई भनेका छन्। ढकालले स्वीकार गरेको उनी निकट मोरङका एक नेताले बताएका छन्।
‘शेरधन राईले उहाँको टिकट लिएर आउँदै हुनुहुन्छ,’ ती नेताले भने।
मोरङ ६ मा यसअघिको चुनावमा कांग्रेसका शेखर कोइरालाले एमालेका लालबाबु पण्डितलाई हराएका थिए। ढकाल भने मोरङ ४ मा माओवादीका अमनलाल मोदीसँग पराजित भएका थिए।
एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल समुहबाट केन्द्रीय सचिवमा उठेर पराजित भएका ढकाल मोरङको क्षेत्र नम्बर १, ४ र ६ बाट उम्मेदवार सिफारिस भएका थिए।
एमालेले मोरङको क्षेत्र नम्बर ५ मा मनोज अग्रवाललाई टिकट दिने तयारी गरिरहेको छ। एमालेले यसअघि स्वतन्त्रबाट उठेर निर्वाचित भएका योगेन्द्र मण्डललाई समेत उक्त क्षेत्रबाट चुनाव लड्नका लागि छलफल गरेको स्रोतले जनाएको छ।