पूर्वमन्त्री प्रदीप यादव जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्।
उनीसँगै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह पनि एमाले प्रवेश गरेका छन्।
जसपा नेपालसँग पार्टी एकीकरण भएको २० दिनमै प्रदीपले पार्टी बदलेका हुन्। पुस १४ अघि प्रदीप जनता समाजवादी पार्टी (जसपा) मा थिए। त्यसदिन जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपा सहअध्यक्ष रेणु यादव पक्षबीच पार्टी एकताको सहमति भएको थियो।
प्रदीप पर्सा क्षेत्र नम्बर १ बाट लगातार दुई पटक प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा उनी २२ हजार ५ सय ३७ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। निर्वाचनको समयमा उनी जसपा नेपालमा थिए। २०८१ वैशाखमा पार्टी फुट्दा प्रदीपले अशोक राईलाई साथ दिँदै जसपामा गएका थिए।
२०३२ सालमा जन्मिएका प्रदीप एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री थिए। त्यसअघि उनी वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए।
उनी फागुन २१ म हुने प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ मा उम्मेदवार बन्नकै लागि एमालेमा प्रवेश गरेको चर्चा छ। सोमबार गुण्डुमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वमन्त्री प्रदीप, नगर प्रमुख राजेशमान सिंह लगायतलाई पार्टीमा स्वागत गरेको एमाले केन्द्रीय सदस्य विजयकुमार सरावगीले जानकारी दिए। उनका अनुसार प्रदीपलाई पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने तयारी पार्टीले गरेको छ।
पूर्वमन्त्री प्रदीप र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमानसँगै उनीहरु निकट अन्य नेता तथा कार्यकर्ताहरू पनि एमाले प्रवेश गरेका छन्।
वीरगञ्ज महानगरपालिकाका प्रथम नगर प्रमुख विजय कुमार सरावगी र प्रदीप २०७४ को निर्वाचनमा एकैसाथ थिए। पछि प्रदीप र विजयकाबीच राजनीतिक तिक्तता बढ्यो। प्रदीपसँगको राजनीतिक वैरभावकै कारण विजयले जसपा नेपाल परित्याग गरेर एमाले रोजेका थिए।
२०७९ को निर्वाचनमा राजेशमानले नगर प्रमुखमा उम्मेदवारी दिनका लागि एमाले रोजेका थिए। २०७८ माघ २८ मा लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर नेकपा एमाले प्रवेश गरेको घोषणा नै गरेका थिए। तर विजय एमालेमा प्रवेश गरेपछि राजेशमान एमालेमा नगई जनता समाजवादी पार्टी, नेपालबाट नगर प्रमुखको उम्मेदवार बनेका थिए।
राजेशमान ४६ हजार २ सय १५ मत ल्याएर विजयी हुँदा एमालेबाट विजयले २३ हजार ६ सय ७१ मत पाएका थिए।