बाँके–२ मा जसपा नेपालका नेता मोहम्मत इस्तियाक राई नेकपा एमालेको सूर्य चिह्न लिएर उम्मेदवार बन्ने भएका छन्।
सोमबार राति पूर्वमन्त्री एवम् जसपा नेता प्रदीप यादवसहित नेताहरूसँग इस्तियाक राई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवास पुगेका थिए। त्यहाँ आफूले एमालेको चुनाव चिह्न लिएर उठ्ने सहमति भएको इस्तियाक राईले बताए। गत शनिबार बसेको सचिवालय बैठकले बाँके–२ खाली राखेको थियो।
‘अहिले एमालेको चुनाव चिह्न लिएर लड्ने सल्लाह भएको छ। एमालेको जिम्मेवारी लिएको छैन। चुनावपछि के हुन्छ भन्न सकिँदैन,’ उनले सेतोपाटीसँग भने।
इस्तियाक राई त्यस निर्वाचन क्षेत्रबाट २०६४, २०७४ मा निर्वाचित भएका थिए। २०७० को दोस्रो संविधान सभा र २०७९ को प्रतिनिधि सभामा भने पराजित भएका थिए। उनी तीन पटक मन्त्री बनिसकेका छन्।