नेकपा एमालेले बझाङको उम्मेदवार बदलेपछि अफिलाल ओखेडाले आफूमाथि अन्याय भएको बताएका छन्।
गत शनिबार बसेको सचिवालय बैठकले ओखेडालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर आइतबार टिकट बदल्दै ऐन महरलाई उम्मेदवार बनाउने एमालेले निर्णय गर्यो।
त्यसपछि ओखेडा रूष्ट भएका हुन्।
‘बिहान ११ बजे टिकट लिएर मनोनयनको लागि जिल्ला जाने भनि तीन बजे धनगढीको फ्लाइटमा टिकट बनाएर पार्टी कार्यालय पुगेँ। पार्टी कार्यलयमा टिकट कतिबेला वितरण हुन्छ भन्दा तीन बजे हुन्छ भने। सामाजिक सञ्जालमा केही बदलिने संकेत पाएपछि त्यहाँ भएका पदाधिकारीलाई सोध्दा हुँदैन, कसले भन्यो भने उत्तर पाएँ। म पनि ढुक्क भएँ। पार्टीले यस्ता कमजोरी गर्दैन भन्ने लाग्यो। फेरि पनि ऐन महरको भयो भन्ने अपुष्ट समाचार सुनेँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
पार्टी सचिवालयले निर्णय गरेर जनजनमा फैलिएको निर्णय कसरी परिवर्तन भयो भनेर उनले प्रश्न गरेका छन्।
‘यदि बाहिर हल्ला आए जस्तै मेरो हातमा आएको टिकट खोसिएकै हो भने मैले के अपराध गरेको रहेछु? मैले पार्टी, जनता र देशविरुद्ध के घात गरेको रहेछु र मलाई यसरी अपमानपूर्वक गलहत्याइयो?,’ उनको भनाइ छ।