प्रतिनिधि सभाको चुनाव लड्न लुम्बिनी प्रदेशका दुई जना प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका छन्।
लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार दाङको क्षेत्र नं. ३ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य धनबहादुर मास्की (राजेश) र बर्दियाको निर्वाचन क्षेत्र नं. २ (२) बाट निर्वाचित धर्मबहादुर चौधरीले आइतबार नै राजीनामा प्रदेशसभा सचिवालयमा राजीनामा बुझाएका थिए।
प्रदेशसभा सचिव पुनका अनुसार दुबै जनाको राजीनामा सोमबार सनाखत गरी बेलुकासम्म त्यो स्वीकृत गर्ने कार्य पूरा हुने बताए।
सोमबार बेलुका नै राजीनामा दिएका दुई जना प्रदेशसभा सदस्य नरहेको सार्वजनिक सूचना टाँस गरिने उनले बताए।
फागनु २१ गते हुने निर्वाचन लड्नका लागि राजीनामा बुझाएकाहरूको राजीनामा स्वीकृत भएपछि उनीहरूले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनामा मतदान गर्न पाउने छैनन्।
२०७९ मंसिर ४ गते भएको निर्वाचनमा मास्की तत्कालीन नेकपा (माओवादी केन्द्र) को तर्फबाट निर्वाचित भएका थिए भने चौधरी तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका थिए। मास्की र चौधरी दुबै जना मन्त्री भएका थिए।
मास्की लुम्बिनीका पूर्वआर्थिक मामिला तथा योजना मन्त्री हुन् भने चौधरी पूर्वभौतिक पूर्वाधार मन्त्री हुन्।
प्रदेशसभा सदस्यबाट राजीनामा दिएकामध्ये मास्कीलाई नेपाली कम्युनिस्ट पार्टीले दाङको क्षेत्र नं. ३ मा उम्मेदवार बनाएको छ भने चौधरीलाई उज्यालो नेपाल पार्टीले बर्दिया क्षेत्र नं. २ को उम्मेदवार बनाएको छ।
रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति त्यागेर पछिल्लो समय चौधरी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा पार्टी प्रवेश गरेका थिए।
गत निर्वाचनमा नेपाली कांग्रेस, तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतको चुनावी तालमेल भएको थियो।
तत्कालीन माओवादीका उम्मेदवार मास्कीले नेकपा एमालेका तत्कालीन जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत पराजित गरेका थिए।
मास्कीले २२ हजार तीन सय २१ मत प्राप्त गर्दा एमालेका बस्नेतले २० हजार एक सय ५८ मत प्राप्त गरेका थिए। उनीहरूको बीचको मतान्तर दुई हजार एक सय ६३ थियो।
चौधरीले भने बर्दिया २ (२) मा कांग्रेस – माओवादी गठबन्धनलाई पराजित गरेका थिए।
तत्कालीन नागरिक उन्मुक्तिबाट चुनाव लडेका चौधरीले नेकपा माओवादीका मानबहादुर थारूलाई फराकिलो मतान्तरले पराजित गरेका थिए।
चौधरीले २० हजार एक सय २७ मत प्राप्त गरेका थिए भने थारूले १० हजार नौ सय ८४ मत प्राप्त गरेका थिए। चौधरी र थारु बीचको मतान्तर नौ हजार एक सय ४३ थियो।