नेकपा एमालेले झापा–३ मा हरि राजवंशीलाई उम्मेदवार बनाउने भएको छ।
नेकपा एमालेको गत शनिबार बसेको सचिवालय बैठकले झापा–३ खाली राखेको थियो।
त्यहाँ एमालेले तालमेलका लागि सिट खाली राखेको हो कि भन्ने चर्चा चलेको थियो। अघिल्लो चुनावमा त्यहाँ एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले तालमेल गरेको थियो। त्यहाँबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका थिए।
एमाले नेताहरूले त्यहाँ अहिलेलाई तालमेलको सम्भावना टरेको बताएका छन्। यद्यपि उम्मेदवारी दर्तापछि पनि त्यो सम्भावना रहेको उनीहरूको भनाइ छ।
तर आइतबार नै त्यहाँ पूर्वसंविधान सभा सदस्य राजवंशीलाई उम्मेदवार बनाउने निर्णय भएको एक नेताले बताए। उनी पूर्वकेन्द्रीय सदस्य पनि हुन्।
एमालेले झापाको पाँच वटै निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवार टुंग्याइसकेको छ।
झापा–१ मा रामचन्द्र उप्रेती, झापा–२ मा देवराज घिमिरे, झापा–४ मा एलपी सावाँ लिम्बू, झापा–५ मा केपी शर्मा ओली उम्मेदवार बन्दैछन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–१ का निशा डाँगी, झापा–२ मा इन्दिरा रानामगर, झापा–३ मा प्रकाश पाठक, झापा–४ मा शम्भु सुस्केरा, झापा–५ मा बालेन शाह उम्मेदवार बन्दैछन्।