राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिन्धुली–२ मा यातायात पूर्वाधार विज्ञ आशिष गजुरेललाई उम्मेदवार बनाएको छ। यातायात तथा पूर्वाधार क्षेत्रका अनुभवी गजुरेल नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए। रास्वपाबाट उम्मेदवार बनेसँगै उनले उक्त पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन्।
गजुरेलले लामो समयदेखि देशको यातायात प्रणाली सुधार, पूर्वाधार विकास, र सुरक्षित तथा दिगो यातायातको पक्षमा सक्रिय अभियान सञ्चालन गर्दै आएका छन्। नीति निर्माणदेखि कार्यान्वयन तहसम्मको अनुभव बोकेका उनलाई यातायात क्षेत्रको सुधार अभियन्ताका रूपमा चिनिन्छ।
सिन्धुली–२ गजुरेलको गृहक्षेत्र समेत भएकाले स्थानीय समस्या, सम्भावना र आवश्यकताबारे उनी राम्रो जानकार छन्। विकास र सुशासनलाई प्राथमिकतामा राख्दै संसदमा नयाँसोच र प्राविधिक दृष्टिकोण भित्र्याउने लक्ष्यका साथ रास्वपाले उनलाई उम्मेदवार बनाएको हो।