राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गुल्मी–१ बाट सागर ढकाललाई उम्मेदवार बनाएको छ।
अघिल्लो निर्वाचनमा डडेल्धुराबाट उम्मेदवार बनेका ढकालले यसपटक गुल्मी–१ रोजेका हुन्।
टिकट पाएलगत्तै उनले गुल्मीलाई गुजराती मोडलमा विकास गर्ने योजना अघि सारेका छन्।
‘भारतका सबै खर्बपतिमध्ये ५० प्रतिशतभन्दा बढी र राजनीतिमा आडवानी, मोदी, गान्धी सबै गुजराती नै छन्। साँचो अर्थमा भारतको कायापलट हुनुमा गुजराती मानसिकता, धार्मिकता, नैतिकता र औद्योगिक सोच अत्यन्तै हाबी छ। त्यसैगरी, गुल्मी र वरपरका जिल्लाहरू नेपालकै इन्टेलेक्च्युअल पावर हाउस भनेर दशकौंदेखि स्थापित छन्। लोक सेवामा गुल्मी कहिल्यै पछि परेको छैन।
सामान्य पास मात्र हुनु गुल्मेली हुनुको अर्थ रहँदैन। गुल्मीको पानीमै पनि बौद्धिकता, उत्कृष्टता र इमान्दारिता छ,’ उनले भनेका छन्।
अब ७७ वटै जिल्लामध्ये रहेको यो अद्भुत क्षमतालाई हामीले देशको कायापलट गर्नुमा लगाउनुपर्ने उनले बताएका छन्।
‘अबका २५ वर्षमा विकासमा नेपालको व्यापक फड्को मार्नु छ। इतिहासमै पहिलो पटक ५ वर्ष एक प्रधानमन्त्री बनाउनु छ। कर्मचारीतन्त्रका समस्या समाधान गरी देशको काँचुली नै फेर्नु छ,’ उनको भनाइ छ।