नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।
यसपालिको चुनावमा झलनाथ खनाल र वामदेव गौतम चुनाव नलड्ने भएका छन्। वामदेव गौतमले चुनाव लड्नकै लागि राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका थिए।
बर्दिया र प्यूठानबाट समेत उम्मेदवार बन्दै आएका वामदेवले प्यूठानमा उम्मेदवार छनोटप्रति चित्त नबुझेका कारण आफूले पनि उम्मेदवारी नदिएको नेकपाका नेताहरू बताउँछन्।
नेकपाले बर्दिया–१ मा विष्णुप्रसाद थारू र बर्दिया–२ मा सुरेश पन्तलाई उम्मेदवार बनाएको छ।
झलनाथ खनालले पनि उम्मेदवार नबन्ने बताएका छन्।
उनी इलाम-१ बाट चुनाव लड्दै आएका थिए। इलाम नेकपाले रणबहादुर राई र इलाम–२ ओमबहादुर गुरूङलाई उम्मेदवार बनाउने भएको छ।
यसपालि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रूकुम पूर्वबाट चुनाव लड्दैछन्।
२०७९ मा उनी गोरखा-२ बाट निर्वाचित भएका थिए। त्यतिबेला उनलाई तत्कालीन नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि समर्थन गरेका थिए। प्रचण्ड २६ हजार १०९ मत प्राप्त गर्दै विजयी भएका थिए।
२०७४ को निर्वाचनमा उनी चितवन–३ बाट उम्मेदवार भई निर्वाचित भएका थिए भने २०७० को दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौं–१० र सिराहाबाट उम्मेदवार बनेका थिए। त्यतिबेला उनी सिराहाबाट मात्रै निर्वाचित भएका थिए।
२०६४ को पहिलो संविधान सभा निर्वाचनमा काठमाडौं–१० र रोल्पाबाट उम्मेदवार बनेका थिए। दुवै ठाउँबाट चुनाव जितेका थिए।
सह-संयोजक माधवकुमार नेपाल रौतहट-१ बाट चुनाव लड्ने भएका छन्। अघिल्लो निर्वाचनमा उनी ३३ हजार ५२२ मत प्राप्त गर्दै सोही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यतिबेला तत्कालीन नेकपा (एकीकृत समाजवादी) अध्यक्ष रहेका उनी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरी चुनाव लडेका थिए।
२०७४ मा २७ हजार ३६६ मत प्राप्त गर्दै उनी काठमाडौं-२ बाट निर्वाचित भएका थिए। त्यतिबेला उनी नेकपा एमालेमा थिए। एमालेले माओवादीसँग वाम गठबन्धन गरी चुनाव लडेको थियो।
झलनाथ र वामदेव पार्टीमा क्रमशः तेस्रो र चौथो वरीयताको नेता हुन्।
पाँचौं वरीयताका नारायणकाजी श्रेष्ठ यसपालि सर्लाही-३ बाट चुनाव लड्ने भएका छन्।
अघिल्लो पटक पार्टी अध्यक्ष प्रचण्डलाई गोरखा-२ छाडेका उनी यसपालि मधेस झरेका हुन्। उनले राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिइसकेका छन्।
२०७४ मा उनी तत्कालीन नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईसँग पराजित भएका थिए।
डा. भीम रावल यसपालि पनि अछाम-१ बाट चुनाव लड्ने भएका छन्।
कात्तिक १९ मा दस वटा कम्युनिस्ट घटक मिलेर नेकपा गठन हुँदा रावल एकतामा सहभागी थिएनन्। कात्तिक २६ गते मात्रै उनी नेकपामा समाहित भएका थिए।
त्यसपछि उनले आफूनिकटहरूलाई समेटेर मातृभूमि जागरण अभियान सञ्चालन गरेका थिए। अभियानले पार्टीको रूप भने लिइसकेको थिएन।
रावलले दसौं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धामा गरेका थिए। आफूविरूद्ध नै चुनावी प्रतिस्पर्धामा उत्रिएपछि ओली उनीसँग रूष्ट थिए।
२०७९ को चुनावमा अछामका दुवै क्षेत्रबाट एमाले उम्मेदवार पराजित हुँदा रावलले पनि भूमिका खेलेका थिए। त्यतिबेला अछाम-१ बाट एकीकृत समाजवादीबाट शेरबहादुर कुँवर १९ हजार ५३४ मतसहित विजयी भएका थिए।
२०७४ मा २४ हजार ८९३ मतसहित रावल अछाम-१ बाट निर्वाचित भएका थिए।
पूर्व नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष रहेका राजेन्द्र पाण्डे यसपालि नेकपाबाट धादिङ-२ मा चुनाव लड्दैछन्।
उनी बागमती प्रदेशका पूर्वमुख्यमन्त्री समेत हुन्।
२०७९ मा उनी ३६ हजार १८ मत प्राप्त गरी धादिङ-२ बाट निर्वाचित भएका थिए।
२०७४ मा उनी धादिङ-२ को प्रदेशसभा १ बाट २७ हजार ३३२ मत प्राप्त गरी विजयी भएपछि उनी बागमती प्रदेशको मुख्यमन्त्री समेत बने।
धादिङमा नेकपा एमालेका तर्फबाट उनी २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका थिए।
पूर्वमाओवादी केन्द्रको पदाधिकारी तहमा रहेका नेताहरू कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भूसाल, नन्दबहादुर पुन नेकपाको उम्मेदवार सूचीमा छैनन्।
वर्षमान पुन रोल्पा-१, महिन्द्र राय यादव सर्लाही-२, र मातृका यादव धनुषा-१ बाट चुनाव लड्ने भएका छन्।