प्रतिनिधि सभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा नेपाली कांग्रेसले कर्णबहादुर (केबी) भण्डारीलाई उम्मेदवार बनाएको छ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस म्याग्दीका उपसभापति भण्डारीलाई उम्मेदवार बनाएको हो।
जिल्लाबाट उम्मेदवार सिफारिस हुँदा पार्टी सभापति एवं पूर्वमन्त्री खमबहादुर गर्बुजा (खमबिर) र उपभासपति भण्डारीको नाम सिफारिस गरेको थियो। पूर्वमन्त्री गर्बुजाकै प्रस्तावमा भण्डारीले टिकट पाएको कांग्रेस म्याग्दीका एक नेताले बताए।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफूले टिकट दाबी नगरे पनि पार्टीका नेताहरूले आफूलाई उठाउने निधो गरेको भण्डारीले बताए।
टिकट दौडमा काठमाडौं नगएको भन्दै उनले अहिले पनि आफू म्याग्दीमै रहेको बताए।
‘पार्टीका साथीहरूले मलाई उठाउनुपर्छ भनेर टिकट ल्याउँदैछन्,’ उनले सेतोपाटीलाई भने, ‘म टिकटको दौडमा थिइनँ, साथीहरूले नै उठ्नुपर्छ भनेर मलाई सर्वसम्मत गरेछन्।’
कांग्रेस वरिष्ठ नेता शेखर कोइराला निकट मानिने भण्डारी पहिलो पटक चुनाव लड्न लागेका हुन्।
म्याग्दीमा होटल कस्तुरी चलाएका पर्यटन व्यवसायी भण्डारी झण्डै ८ वर्ष जापान र हङकङमा बसेका थिए। २०६४ सालमा स्वदेश फर्केर उनले टेक्नोलोजी सेल्स प्रालि स्थापना गरेर प्रविधि अनुसन्धानमा लागेका थिए।
सोही कम्पनीबाट वैज्ञानिक राम रिमाल र लक्ष्मण रिमाल दाजुभाइले इलेक्ट्रोनिक भोटिङ मेसिन निर्माण गरेको उनले दाबी गरे।
‘मैले काठमाडौं बसेर प्रविधि विकासमा लगानी गरेको थिएँ,’ उनले भने, ‘युवा वैज्ञानिक राम र लक्ष्मणले सोही कम्पनीबाट इलेक्ट्रोनिक भोटिङ मेसिन आविष्कार गरेका हुन्।’
हङकङ आइडी लिएर बसेका भण्डारी २०६४ सालमा नेपाल फर्किर प्रविधिमा लगानी गर्न थालेका थिए।
अहिले उक्त कम्पनीबाट भण्डारी अलग भइसकेका छन् भने म्याग्दीमा होटल कस्तुरी चलाउनुका साथै सामाजिक र राजनीतिक कार्यमा क्रियाशील छन्।
२०६६ सालमा नेपाल नागरिक उड्डयन प्राधिकरणका बोर्ड डाइरेक्टर रहेका भण्डारी त्यसपछि भने पार्टीको पूर्णकालीन सदस्य रहेका छन्। पार्टीका नेता तथा कार्यकर्ता र पूर्वमन्त्री गर्बुजाले नै आफूलाई चुनाव उठ्न प्रेरित गरेको उनले बताए।