माओवादी आन्दोलनका 'जिउँदो सहिद' भनेर चिनिने रामबहादुर भण्डारीले यसपालि चुनाव लड्ने भएका छन्।
उनलाई आइतबार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले भेटेर आगामी प्रतिनिधि सभा निर्वाचनका लागि धादिङ–२ बाट लड्न टिकट दिएका हुन्।
माओवादी सशस्त्र संघर्षदेखि नै जिल्लामा पार्टीको संगठन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका भण्डारी २०३६ सालदेखि मसाल हुँदै माओवादी राजनीतिमा सक्रिय छन्।
दसवर्षे माओवादी युद्धकालमा भूमिगत भएका भण्डारीले त्यही समयमा आफ्ना दुई छोरा गुमाएका थिए।
तत्कालीन सरकारले 'किलो–सेरा २' अपरेसन चलाउँदा भण्डारीमाथि पनि गोली प्रहार भएको थियो।
प्रहरीले मृत्यु भएको बताउँदै फालेका भण्डारीलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका थिए। उनलाई नेता–कार्यकर्ताले 'जिउँदो सहिद' भनेर सम्बोधन गर्छन्। घाइते अवस्थामै उनी ३६ महिना जेल पनि बसेका थिए।
२०६४ सालमा कल्पना धमलालाई तत्कालीन माओवादीले उम्मेदवार बनाएको थियो। २०७० सालको निर्वाचनमा भण्डारी समानुपातिक सूचीमा थिए, तर पार्टीले पूर्व प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहलाई समानुपातिक सांसद छानेको थियो।
पार्टीभित्र मात्रै होइन, भण्डारी धादिङका आम जनतामा समेत लोकप्रिय नेता मानिन्छन्। २०७४ र २०७९ सालमा एमाले र कांग्रेससँग गठबन्धन गर्दा उनी पछि हट्नुपरेको थियो।
३० वर्षसम्म अनवरत पार्टीमा काम गरेका भण्डारीलाई उम्मेदवार बनाउँदा धादिङमा सिंगो पार्टी उत्साहित भएको नीलकण्ठ नगरपालिकाका उपमेयर रहेका नेकपा नेता दीपक विश्वकर्माले बताए।
धादिङ–२ ले रामबहादुर भण्डारीसहित पुष्पविक्रम मल्ल, अञ्जन थापा 'कुमार', नवराज गौली, अनील रिजाल, जगत सिंखडा, सरला धमला, शिशिर तामाङलाई उम्मेदवार सिफारिस गरेको थियो।
धादिङ–२ मा एमालेले धनबहादुर घलेलाई उम्मेदवार बनाएको छ। नेपाली कांग्रेसको उम्मेदवार चयन हुन बाँकी छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोधनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। श्रेष्ठ यसअघि तत्कालीन माओवादी केन्द्रमा सक्रिय थिए। केहीअघि मात्र रास्वपा प्रवेश गरेका उनलाई संगठन विभाग उपप्रमुख बनाइएको छ।
श्रेष्ठ रास्वपा उपसभापति डोलप्रसाद (डिपी) अर्यालको गृह वडा ज्वालामुखी–२ का वासिन्दा हुन्। उनीसँग संयुक्त राष्ट्र संघीय निकाय युनिसेफमा उच्च तहमा रहेर लामो समय काम गरेको अनुभव छ।
श्रेष्ठले धादिङका सुख्खाग्रस्त क्षेत्रमा खानेपानी आयोजना सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।