एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली कांग्रेसले गमप्रसाद गुरूङलाई उम्मेदवार उठाएको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेसले उनलाई उम्मेदवार बनाएको हो।
नेपाली कांग्रेस लमजुङको सभापतिमा पराजित भएका गुरूङ जिल्लाका सादगी नेता मानिन्छन्।
लमजुङ सीप विकास प्रतिष्ठान, लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्दीका संस्थापक रहेका गुरूङ सामाजिक कार्य सँगसँगै आफ्नै गाउँ भोँजेमा जडिबुटी तथा फलफुल खेती गरिरहेका छन्।
कांग्रेस सभापति गगन थापा र नेता शेखर कोइराला पक्षबाट लमजुङ सभापतिमा उनलाई तत्कालीन सभापति शेरबहादुर देउवा पक्षका डा. टकराज गुरूङले चुनाव हराएको थियो। डा. टकराज अहिले गण्डकीका अर्थमन्त्री छन्।
देउवा पक्षबाट जिल्ला सभापति निर्वाचित भए पनि उनले विशेष महाधिवेसनबाट सभापतिमा निर्वाचित गगन थापा लगायत केन्द्रिय समितिलाई बधाई दिइसकेका छन्।
सभापति डा. टकराज गण्डकीको अर्थमन्त्री र निवर्तमान सभापति भेषबहादुर पौडेल पनि गण्डकीको वन तथा वातावरण मन्त्री छन्।
उनीहरू दुबै जना प्रदेश सरकारमा रहेकोले गमप्रसादले अवसर पाएको जिल्लाका नेताहरूले बताएका छन्।
लमजुङबाट एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ, नेपाली कम्युनिष्ट पार्टीबाट हरिजंग तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. धर्म केसी उम्मेदवार उठिसकेका छन्।