फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले रूपन्देहीका चार वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउने तयारी गरेको छ।
नेपाली कांग्रेसले रूपन्देही क्षेत्र नं. १ बाट हिराबहादुर केसीलाई उम्मेदवार बनाउँदै छ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा देवदह नगरपालिकाको मेयर निर्वाचित भएका केसी २०७९ सालको निर्वाचनमा भने एमालेका ध्रूव खरेलसँग मेयर पदमै पराजित भएका थिए।
त्यस्तै क्षेत्र नं. २ मा चुन्नप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ। व्यवसायी पौडेललाई नेपाली कांग्रेसले सोमबार उम्मेदवार बनाउने निर्णय गरेको हो। पौडेल यशोदा फुड्स र बुटवल अस्पताल प्रालिका अध्यक्ष हुन्।
त्यस्तै क्षेत्र नम्बर ३ मा सुशील गुरूङले उम्मेदवारी दिने भएका छन्। नेपाली कांग्रेसको क्षेत्र नं. ३ का सभापति रहेका गुरूङ भैरहवा मेडिकल कलेजमा प्रशासन शाखामा कार्यरत छन्।
त्यस्तै क्षेत्र नं. ४ मा प्रमोद यादव बन्ने सम्भावना रहे पनि पक्का भने भइनसकेको कांग्रेसले जनाएको छ।
नेपाली कांग्रेसबाट क्षेत्र नं. ५ मा भने भरतकुमार शाह उम्मेदवार बन्ने भएका छन्। शाह गत निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए।