नेकपाका केही नेताहरू आउँदो चुनाव नलड्ने भएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ।
नेकपाले सोमबार टुंग्याएका उम्मेदवारहरूको सूचीमा केही प्रभावशाली नेताहरूको नाम उल्लेख छैन। केहीले घोषणा नै गरेर चुनाव नलड्ने भनेका छन्।
नेकपामा तेस्रो वरीयताका नेता झलनाथ खनालले चुनाव नलड्ने घोषणा गरेका छन्।
उनी इलाम–१ बाट चुनाव लड्दै आएका थिए। इलाम नेकपाले रणबहादुर राई र इलाम–२ ओमबहादुर गुरूङलाई उम्मेदवार बनाउने भएको छ।
वामदेव गौतमले चुनाव लड्नकै लागि राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका थिए।
बर्दिया र प्युठानबाट समेत उम्मेदवार बन्दै आएका वामदेवले प्युठानमा उम्मेदवार छनोटप्रति चित्त नबुझेका कारण आफूले पनि उम्मेदवारी नदिएको नेकपाका नेताहरू बताउँछन्।
नेकपाले बर्दिया–१ मा विष्णुप्रसाद थारू र बर्दिया–२ मा सुरेश पन्तलाई उम्मेदवार बनाएको छ।
पूर्वमाओवादी केन्द्रमा उपाध्यक्ष रहेका अग्नि सापकोटा यसपालिको चुनाव पनि नलड्ने भएका छन्।
अघिल्लो चुनामा आफ्नो निर्वाचत क्षेत्र सिन्धुपाल्चोक–१ मा माधव सापकोटालाई उम्मेदवार बनाउँदै निर्वाचन नलडेका सापकोटा यसपालिको चुनाव पनि नलड्ने भएका हुन्।
उनी २०७४ सालको आम निर्वाचतका साथै २०७० र २०६४ सालको संविधान सभा निर्वाचनमा भारी मतान्तरले विजयी भएका थिए।
सिन्धुपाल्चोक–१ मा यसपालि पनि माधव सापकोटा नै उम्मेदवार छन्।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा आए पनि यसपालिको चुनाव नलड्ने भएका छन्।
दुई पटकसम्म उपराष्ट्रपति बनेका पुन २०७४ सालको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–४ मा कांग्रेसका गगन थापासँग पराजित भएका थिए।
पूर्वमाओवादीमा रहँदा उपाध्यक्ष रहेकी पम्फा भुसालले घोषणै गरेर चुनाव नलड्ने भएकी हुन्।
नेकपाको उम्मेदवार सूचीमा पनि उनको नाम उल्लेख छैन।
२०७४ सालको चुनावमा ललितपुर–३ बाट विजयी भएकी भुसाल २०७९ को चुनावमा सोही क्षेत्रबाट पराजित भएकी थिइन्। ललितपुर–३ मा यसपालि राजकाजी महर्जन नेकपाका उम्मेदवार छन्।
देव गुरूङ पनि यसपालि नेकपाको उम्मेदवार सूचीमा छैनन्।
२०७९ सालको निर्वाचनमा लमजुङ–१ एमालेका पृथ्वीसुब्बा गुरूङसँग पराजित भएका गुरूङ २०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
लमजुङ–१ मा यसपालि नेकपाबाट हरिजङ तामाङ उम्मेदवार छन्।