नेकपा एमालेका उपाध्यक्ष तथा रूपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार दिने तयारी गरेका विष्णु पौडेलले आफूले रूपन्देहीलाई कहिल्यै नबिर्सने बताएका छन्।
उम्मेदवारी मनोनयनका लागि सोमबार आफ्नो निर्वाचन क्षेत्रमा आएका पौडेलले भने, 'न मैलै रूपन्देहीलाई बिर्सन्छु, न मलाई रूपन्देहीले बिर्सने छ।'
पौडेलले विगतमा आफूले अघि सारेका योजनाहरूलाई पूर्णता दिन रूपन्देहीको क्षेत्र नं २ बाट आफ्नो उम्मेदवारी रहेको बताए।
शनिबार बसेको एमाले सचिवालय बैठकले पौडेललाई पाल्पाको क्षेत्र नं २ बाट चुनाव उठाउने निर्णय गरेसँगै रूपन्देहीका नेता कार्यकर्ताले चर्को विरोध गरेका थिए। उक्त विरोध पछि निर्णय सच्चिएको उनको भनाई थियो।
पार्टीको निर्णयभन्दा फरक भएर आफू जान नसक्ने बताउँदै उनले सचिवालय बैठकमा आफूलाई पाल्पा पठाउन छलफल चलाए पनि रूपन्देहीका नेता कार्यकर्ताको बलियो साथले रूपन्देहीमै उम्मेदवार बनाउने निर्णय गरेको बताए।
उनले सोमबार नै एमाले लुम्बिनीका अध्यक्ष राधाकृष्ण कंडेल तथा रूपन्देही अध्यक्ष यज्ञ गैरेबाट संयुक्त रूपमा चुनावका लागि टिकट लिएका थिए।
पौडेल रूपन्देही आउने भएपछि नेता कार्यकर्ता भैरहवा विमानस्थलमा उनलाई स्वागत गर्न पुगेका थिए।