पछिल्लो समय मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि उनीहरूको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्की आफैले लिएकी छन्।
आइतबार खेलकुद मन्त्री वब्लु गुप्ता, सोमबार सञ्चामन्त्री जगदीश खरेल र मंगलबार शिक्षा तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका थिए।
उनीहरूले राजीनामा दिएपछि प्रधानमन्त्री कार्कीले ती मन्त्रालयको जिम्मेवारी आफैलाई तोक्न सिफारिस गरेकी थिइन्। सोही सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ती मन्त्रालयहरूको कार्यभार तोकेको उनको कार्यालयले जानकारी दिएको छ।
'सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री महावीर पुनः सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री श्री बब्लु गुप्ताले नेपालको संविधान बमोजिम प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हुँदा निजहरूले सम्हाली आउनुभएको मन्त्रालयहरूको कार्यभार समेत प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोक्नुभयो,' राष्ट्रपती कार्यालयले मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।
गुप्ता र खरेलले फागुन २१ को चुनावमा उम्मेदवारी दिनका लागि राजीनामा दिएका थिए। पुनले पनि म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।