नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको निर्णयविरूद्ध दायर गरेको रिटको सुनुवाइ हुने भएको छ।
आयोगले विशेष महाधिवेशनबाट चुनिएका गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि दायर भएको रिटमा मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा सुनुवाइ हुन लागेको हो।
यो रिट उक्त इजलासको ‘ङ’ नम्बरमा राखिएको छ।
आयोगले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएको थियो।
आइतबार शेरबहादुर देउवा, पूर्णबहादुर खड्का पक्ष रहेर वारेस श्रवणकुमार श्रेष्ठले रिट दायर गरेका थिए।
रिट त्यही दिन दायर गरी सुनुवाइ पनि त्यही दिन गरिदिन खड्काको माग थियो। तर उक्त माग कानुन अनुसार नमिल्ने जबाफ प्रशासनले दिएको थियो।
रिटमा देउवापक्षले विशेष महाधिवेशन अवैधानिक बताउँदै कार्यसमितिलाई भंग गर्नुपर्ने पहिलो माग राखेका छन्।
त्यस्तै फागुन २१ गते हुने निर्वाचनको लागि माघ ६ गते मनोनयन दर्ताको मिति तोकिएको छ। मंगलबार नै मनोनयन दर्ता भएकाले उम्मेदवारी चयन नै रोक्न माग गरेका छन्।
यदी मनोनयन भइसकेको भए स्थगित गरी अर्को मनोनयन मिति घोषणा गर्न पनि सर्वोच्चमा कांग्रेस नेताहरूको माग छ।