राष्ट्रिय स्वतन्त्र पार्टीले बारा-४ बाट रहबर अन्सारीलाई उम्मेदवार बनाएको छ।
पार्टी सभापति रवि लामिछानेले रहबर अन्सारीलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिएका हुन्।
बारा–४ मा उम्मेदवार बन्न व्यवसायी इच्छाबहादुर वाग्ले, शिक्षक शालिकराम अधिकारीलगायत आकांक्षी थिए। शालिकराम उम्मेदवार बन्नकै लागि पहिलो पटक दलमा खुलेका व्यक्ति हुन्। तर उनले रहबर अन्सारीको प्रस्तावक आफू बस्ने बताए।
रास्वपा चुनाव लड्न लागेका रहबर वीरगञ्ज निवासी हुन् । उनी २०७९ सालमा पर्सा क्षेत्र नं. १(१) बाट मधेस प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
बारा क्षेत्र नं ४ मा नेकपा एमालेबाट पूर्वमन्त्री किसान श्रेष्ठ उम्मेदवारी दिँदैछन्। उनी यसअघि एकीकृत समाजवादी पार्टीबाट निर्वाचित भएका थिए ।