विशेष महाधिवेशनबाट नेतृत्वमा पुस्तान्तरण गरेको नेपाली कांग्रेसले आसन्न निर्वाचनमा धेरैजसो पुराना 'हेभीवेट' नेताहरूलाई उम्मेदवार बनाएन।
पार्टीबाट टिकट नपाउने हेभीवेट नेतामा सबभन्दा अगाडि पूर्वसभापति शेरबहादुर देउवाकै नाम आउँछ। उनले अन्तिम समयसम्म प्रयास गर्दा पनि टिकट पाएनन्। ३४ वर्षदेखि देउवाको एकछत्र चुनाव क्षेत्र रहेको डडेल्धुरामा यसपालि नैनसिंह महरले टिकट पाएका छन्।
पूर्वसभापति देउवाले डडेल्धुराबाट चुनाव लड्न टिकट मागिरहेका थिए, तर कांग्रेसले दिन मानिरहेको थिएन।
विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई संरक्षक रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न भनेको थियो।
'निवर्तमान सभापतिज्यूले आज बेलुकीसम्म पनि अन्तिम पटक डडेल्धुराबाट चुनाव लड्न चाहन्छु भन्ने खबर पठाइरहनुभएको थियो। उहाँलाई हामीले अभिभावकीय भूमिकामा रहन भनेका थियौं,' कांग्रेसका एक पदाधिकारीले भने, 'निवर्तमान सभापति देउवालाई उम्मेदवार बनाउँदा पार्टीभित्र आएको रूपान्तरण र पुस्तान्तरणको सन्देश नै खलबलिन्थ्यो। त्यसैले हामीले उहाँलाई उम्मेदवार बनाएनौं।'
शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले सोमबार राति 'शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु' भनेका थिए।
देउवाले २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट चुनाव लड्दै र जित्दै आएका थिए। उनी अहिलेसम्म सात पटक निर्वाचित भइसकेका छन्। गृहमन्त्रीका रूपमा सरकारमा प्रवेश गरेका देउवा पाँच पटक प्रधानमन्त्री भए।
टिकट नपाउने हेभीवेट नेतामा विजयकुमार गच्छदार पनि पर्छन्।
२०४८ पछिका सबै चुनाव जित्दै आएका गच्छदार यसअघि सुनसरी ३ मा हारेका थिए। गच्छदारले २०४८, २०५१ र २०५६ को निर्वाचन कांग्रेसबाट जितेका थिए।
२०६४ मा मधेसी जनअधिकार फोरम र २०७० मा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट विजयी भएका उनी २०७४ मा फेरि कांग्रेसबाट चुनाव जितेका थिए। २०७९ सालमा एमालेकी भगवति चौधरीले उनलाई पराजित गरेकी थिइन्।
यसपालि गच्छदारले फेरि चुनाव लड्ने आकांक्षा राखे पनि टिकट पाएनन्।
टिकट नपाउने अर्का नेता हुन्, बालकृष्ण खाण।
गृहमन्त्री हुँदा नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा पक्राउ परेका खाण रूपन्देही-३ बाट फेरि चुनाव लड्न चाहन्थे। तर पाएनन्। उनको ठाउँमा सुशील गुरूङले टिकट पाएका छन्।
अर्का नेता रमेश लेखकले पनि यसपालि टिकट पाएनन्। यसअघि उनले कञ्चनपुर-३ बाट चार पटक चुनाव जितेका थिए।
२०५६ सालमा पहिलो पटक चुनाव जितेका लेखक २०६४ सालमा प्रत्यक्ष चुनाव लड्न पाएनन्। त्यसपछि २०७० सालमा उनले यही क्षेत्रबाट चुनाव जिते।
२०७४ सालको संसदीय चुनावमा पराजित भएका लेखक २०७९ मा विजयी भएका थिए। भदौ २३ र २४ को जेनजी आन्दोलन क्रममा उनी गृहमन्त्री थिए।
सशांक कोइरालाले पनि यसपालि सांसद उम्मेदवारको टिकट पाएनन्। यसअघि उनले तीन पटक चुनाव जितेको क्षेत्र नवलपूर पूर्वबाट यसपालि गजेन्द्र आलेले टिकट पाएका छन्।
निवर्तमान उपसभापति धनराज गुरूङलाई पनि यसपालि कांग्रेसले सांसदको टिकट दिएन।
गुरूङले २०७९ सालमा स्याङजा-२ बाट नेकपा एमालेकी सचिव पद्मा अर्याललाई हराउँदै चुनाव जितेका थिए। त्यही क्षेत्रमा पूर्वउपसभापति गोपालमान श्रेष्ठले चुनाव लड्दै आएका थिए। तर उनले यसपालि पनि टिकट पाएनन्।
टिकट नपाउने पुराना नेतामा प्रकाशमान सिंह पनि एक हुन्। नेपाली कांग्रेसका संस्थापक नेतामध्ये एक गणेशमान सिंहका छोरा प्रकाशमानले यसअघि काठमाडौं-१ बाट चुनाव जित्दै आएका थिए।
यसपालि पनि सिंह यही क्षेत्रबाट पहिलो नम्बरमा सिफारिसमा परेका थिए। तर कांग्रेसले उनलाई टिकट दिएन। उनको ठाउँमा प्रबल थापालाई उम्मेदवार बनाइएको छ।
टिकट नपाएका हेभीवेट नेताहरूका अतिरिक्त कतिपयले आफै चुनाव नलड्ने घोषणा पनि गरेका छन्।
उपसभापति विश्वप्रकाश शर्माले पहिले नै यसपालि चुनाव नलड्ने घोषणा गरेका थिए। अर्की उपसभापति पुष्पा भुसालले पनि चुनाव नउठ्ने घोषणा गरेकी थिइन्।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएपछि त्यसविरूद्ध सर्वोच्च अदालत गएका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नैतिकताका आधारमा चुनाव नलड्ने घोषणा गरेका छन्।
त्यस्तै, सुर्खेत-२ का हृदयराम थानी, धादिङ-२ का रामनाथ अधिकारी, काठमाडौं-१० राजेन्द्र केसी, सोलुखुम्बुका बलबहादुर केसी, जिपछिरिङ लामा लगायतले चुनावमा नउठ्ने घोषणा गरेका छन्।