नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको निर्णय विरूद्ध दायर गरेको रिटमा बहस सकिएको छ।
आयोगले विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि दायर भएको रिटमा मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा सुरू भएको बहस सकिएको हो।
आज निवेदकको पक्षबाट पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खाती, रमेश बडाल, कामना खाती लगायतले बहस गरेका थिए।
पूर्वमहान्यायाधीवक्ता खातीले निर्वाचन आयोगले एकतर्फी मात्रै कुरा सुनेर विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएको दाबी गरेका छन्।
कांग्रेसको पूर्ववत् समितिले कारबाही गरेको सम्बन्धमा निर्वाचन आयोगले पनि अभिलेख राखेको अवस्थामा पनि अर्को पक्षको कुरै नसुनी विशेष महाधिवशेनको पक्षमा निर्णय सुनाएको उनको दाबी थियो।
खातीले अवैधानिक भएको महाधिवेशनबाट बनेको नेतृत्वले चुनावको टिकट जारी गर्न पाउन नहुने जिकिर पनि गरेका थिए।
अझै ४० दिन बाँकी रहेकाले आजको मनोनयन यथास्थितिमा राखेर फरक नपर्ने उनले बताएका छन्। व्यक्ति विशेषको नभएर सिंगो संगठनको कुरा भएको भन्दै उनले भने।
बहस सकिएकाले आदेश आजै आउनेछ।
आयोगले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएको थियो। आइतबार शेरबहादुर देउवा, पूर्णबहादुर खड्का पक्ष रहेर वारेस श्रवणकुमार श्रेष्ठले रिट दायर गरेका थिए।
रिट त्यही दिन दायर गरी सुनुवाइ पनि त्यही दिन गरिदिन खड्काको माग थियो। तर उक्त माग कानुन अनुसार नमिल्ने जबाफ प्रशासनले दिएको थियो।
रिटमा देउवा पक्षले विशेष महाधिवेशन अवैधानिक बताउँदै कार्यसमितिलाई भंग गर्नुपर्ने पहिलो माग राखेका छन्।
त्यस्तै फागुन २१ गते हुने निर्वाचनको लागि माघ ६ गते मनोनयन दर्ताको मिति तोकिएको छ। मंगलबार नै मनोनयन दर्ता भएकाले उम्मेदवारी चयन नै रोक्न माग गरेका छन्।
मनोनयन भइसकेको भए स्थगित गरी अर्को मनोनयन मिति घोषणा गर्न पनि सर्वोच्चमा कांग्रेस नेताहरूको माग छ।