नेपाली कांग्रेसको दमक नगर समितिका सभापति प्रकाश प्रसाईंले राजीनामा दिएपछि काग्रेसबाटै दमक नगरपालिकामा उपमेयर निर्वाचित उनकी पत्नी रेगिना भट्टराईले आफूले रोक्न खोज्दा पनि 'पार्टीमा चित्त दुखाएर' राजीनामा दिएको बताएकी छन्।
प्रसाईंले कांग्रेस पार्टीको जिम्मेवारीबाट राजीनामा दिएर झापा-५ मा बालेन शाहलाई सघाउने घोषणा गरेका छन्।
२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट दमक नगरपालिकाको उपमेयर निर्वाचित रेगिनासँग कुरा गर्दा उनले भनिन्, 'उहाँ पहिले एमालेमा हुनुन्थ्यो। उहाँ कांग्रेसमा आएपछि मलाई सहज भएको थियो।'
उनले अगाडि भनिन्, 'उहाँले पार्टीमा चित्त दुखाउनुभएको रहेछ। मैले रोक्न खोजेँ, उहाँले यो समाजमा मेरो पनि तिम्रो जत्तिकै लगानी छ। राजनीतिक रूपमा मलाई प्रेसर नगर भन्नुभयो। मैले केही भनिनँ।'
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेन शाहले उम्मेदवार दिएपछि चुलिएको झापा-५ को चुनावी चर्चाबीच प्रसाईंले मंगलबार सामाजिक सञ्जालबाट उक्त घोषणा गरेका हुन्।
'म प्रकाश प्रसाईं, आज मिति २०८२ माघ ६ गतेदेखि नेपाली कांग्रेस दमक नगर सभापतिको पद र पार्टीको क्रियाशील सदस्यता समेत परित्याग गर्ने औपचारिक घोषणा गर्दछु,' प्रसाईंले लेखेका छन्, 'अब मेरो यात्रा पद, कुर्सी वा झन्डाको होइन, परिवर्तनको हो।'
उनले आफ्नो निर्वाचन क्षेत्र झापा–५ बाट रास्वपाका उम्मेदवार काठमाडौं महानगरका निवर्तमान मेयर बालेन शाहलाई विजयको अग्रिम शुभकामना दिँदै आफ्नो तर्फबाट पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।