नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङले प्रतिनिधिसभा सदस्य निर्वाचनमा लमजुङबाट उम्मेदवारी दिएका छन्।
लमजुङमा पञ्चायतकालदेखि निरन्तर चुनाव लड्दै आएका गुरूङ नवौं पटक उम्मेदवार बनेका हुन्।
उम्मेदवारी दर्ता गरेपछि छोटो प्रतिक्रिया दिँदै गुरूङले विदेशी हस्तक्षेप विरूद्ध आफूले उम्मेदवारी दिएको बताए।
‘मेरो उम्मेदवारी किन भन्दा अहिले मुलुकमा विदेशी हस्तक्षेप भयो। संविधान घाइते भयो। हाम्रो लोकतन्त्र कमजोर भयो,’ उनले भने, ‘जनताबाट निर्वाचित प्रधानमन्त्री अपदस्त गर्ने कुरा नै लोकतन्त्र कमजोर बनाउने कुरा हो। लोकतन्त्र सुदृढ गर्न, संविधानको रक्षा गर्न र राष्ट्रिय स्वाधिनता र स्वतन्त्रका पक्षमा मुलुक उभ्याउन मेरो उम्मेदवारी हो।’
गुरूङले लमजुङ जिल्लाको विकास गर्ने आफ्नो आकांक्षा रहे पनि धेरै पटक चुनाव हारेकाले सम्भव नभएको बताए।
गण्डकी प्रदेशको मुख्यमन्त्री रहँदा आफूले लमजुङको विकासमा धेरै बजेट छुट्याए पनि आफू हटेपछि सबै आयोजना अधुरो रहेको बताए।
निर्वाचन जितेपछि आफू प्रभावशाली मन्त्री हुन सक्ने भन्दै उनले सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न योगदान गर्न चाहेको बताए।
‘सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न म योगदान गर्न चाहन्छु,’ उनले भने, ‘कहाँ कहाँ कमजोरी छ भनेर पत्ता लगाएको छु, प्रभावशाली मन्त्री भएर त्यो पुरा गर्छु ।’
लमजुङमा कांग्रेसबाट गमप्रसाद गुरूङ, नेकपाबाट हरिजंग तामाङ, रास्वपाबाट धर्म केसी लगायतले उम्मेदवारी दर्ता गर्दैछन् ।